August 2016

भदौ ११ । पोखरामा भेट्रान्स राष्ट्रिय पुरुष खुला बास्केटबल प्रतियोगिता हुने भएको छ ।
४० वर्षमाथिका खेलाडीलाई लक्षित गरी आगामी कात्तिक ४ देखि ६ गतेसम्म प्रतियोगिता गर्न लागिएको कास्की जिल्ला बास्केटलबल संघले जनाएको छ ।
प्रतियोगितामा १२ टिमले भाग लिने बताइएको छ ।
प्रतियोगिताका संयोजक नारायणप्रसाद शर्माले पहिलो हुने टिमलाई ४० हजार ४ सय ४४ र दोस्रो हुनेलाई २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न चार लाख ७५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
पहिलोपटक पोखरामा भेट्रान्स बास्केटबल प्रतियोगिता गर्न लागिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बास्केटबल संघ कास्कीका अध्यक्ष नेत्रबहादुर सेनले बताए ।

भदौ ११ । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम (एनआरटी) शीर्ष स्थानमा उक्लिएको छ ।
लिगको तेस्रो खेलमा शनिबार ब्वाइज युनियन क्लबलाई २–१ ले पराजित गर्दै एनआरटी ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो ।
यसअघि मध्यपुर युथ एसोसिएसनसँग १–१ को बराबरी खेलेसँगै एनआरटीलाई झड्का लागेको थियो ।
शनिबारकै अर्को खेलमा मध्यपुरले लगातार दोस्रो खेलमा अंक बाँड्नेक्रममा रानीपोखरी कर्नर टिम (आरसीटी)सँग १–१ गोलको बराबरी खेलेको छ ।
यो बराबरीले भने आरसीटी गोलअन्तरमा एनआरटीसँग पछि पर्दै दोस्रो स्थानमा झरेको छ । मध्यपुर ५ अंकसहित तेस्रो स्थानमा छ ।

भदौ ११ । दोस्रो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दोस्रो दिन शनिबार आठओटा खेल भएका छन् ।
कीर्तिपुरस्थित पुष्पसदन आवासिय माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा सिनियरतर्फ कमल इंग्लिस स्कुल, ग्रीनफिल्ड स्कुल, ब्राइट होराइजन, न्यू जेनिथ स्कुल र इनोभेटिभ एकाडेमीले जित हासिल गरे ।
कमल इंग्लिस स्कुलले हिमालयन बोर्डिङ स्कुललाई ४४–३४ ले पराजित गर्दा ग्रीनफिल्ड स्कुलले एलआरआइ स्कुललाई ४०–३३ ले पराजित गर्‍यो ।
यस्तै, ब्राइट होराइजनले बृहस्पति विद्यासदनलाई ३३–२६ ले, न्यू जेनिथ स्कुलले ज्ञानोदयबाल बाटिकालाई ३२–१६ ले र इनोभेटिभ एकाडेमीले राराहिल मेमोरियललाई ४४–२८ ले पराजित गर्‍यो ।
यस्तै, जुनियर बास्केटबलतर्फ इनोभेटिभ एकाडेमीले न्यू जेनिथलाई ४०–२४ ले, ग्रीनफिल्डले एलआरआइलाई ३८–८ ले र हिल्टाउन इन्टरनेसनल स्कुलले कमल इंग्लिस स्कुललाई ३०–४ ले पराजित गर्‍यो ।
प्रतियोगितामा सिनियरतर्फ १८ टिम र जुनियरतर्फ १३ टिमको सहभागिता रहेको छ ।

भदौ ६ । मुगुका किशोरीहरुको फुटबल कथामाथि बनेको नेपाली वृत्तचित्र ‘सुनकली’ले विश्व फुटबल महासंघ (फिफा)को टेलिभिजन ‘फिफा टिभी’को प्रतिवेदनमा रिपोर्टमा स्थान पाएको छ ।
फिफा टिभीको समूह काठमाडौं आइ सुनकलीको कथालाई समेटेर आइतबार विशेष रिपोर्ट तयार पारेको सुनकलीका निर्देशक भोजराज भाटले जानकारी गराए ।
आइतबार नै फिफा टिभीको युट्युब च्यानलमा ‘मिट द हिमालयन मेसी’ शीर्षकमा उक्त भिडियो रिपोर्ट अपलोडसमेत गरिएको छ ।
सुनकलीबारे टिभीमा झन्डै पाँच मिनेटको रिर्पोट तयार पारिएको उनले जानकारी गराए ।
सुनकलीसँगै १२ मिनेट लामो भिडियो रिपोर्टमा नेपाली राष्ट्रिय पुरुष र महिला फुटबल टिम पनि स्थान पाएको छ ।
नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक जापानी नागरिक कोजी ग्योतोकु, राष्ट्रिय टिमका स्टाइकर नवयुग श्रेष्ठ र राष्ट्रिय महिला टिमकी कप्तान अनु लामालाई समेटिएको छ ।
उक्त रिपोर्टमा १८ ओटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको सुनकली वृत्तचित्रका विभिन्न दृश्य देखाइएको छ ।
निर्देशक भाटले नेपालको दुर्गम क्षेत्रका किशोरीहरुको कथामा आधारित वृत्तचित्रले फिफा जस्ता अन्तर्राष्ट्रिय टिभीमा स्थान पाउनु गर्वको कुरा भएको बताए ।
ललितपुरको सेन्टजेभियर्सका स्कुले बालबालिका उत्साहपूर्वक ‘सुनकली’ हेरिरहेको दृश्यलाईसमेत महत्वकासाथ फिफा टिभीले आफ्नो रिपोर्टमा राखेको निर्देशक भाटले बताए ।
८० भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्र उत्सवमा सहभागिता जनाइसकेको ‘सुनकली’का तीनजना पात्र यतिखेर काठमाडौंमा पूर्णआवासीय छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

भदौ ६ । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम (आरसीटी) र सातदोबाटो युथ क्लबले विजयी सुरुव्आत गरेका छन् ।
आरसीटीले सोमबार नयाँबस्ती फुटबल क्लबलाई २–० ले हरायो । ७०औं मिनेटमा नयाँबस्तीका दीपेश थापामगरले गरेको आत्मघाती गोलबाट उपहार पाएको आरसीटीका लागि ९०औं मिनेटमा सौजन राईले गोल थप्दै महत्वपूर्ण जित दिलाए ।
त्यस्तै, सोमबारै भएको अर्को खेलमा सातदोबाटोले ब्वाइज युनियन क्लबलाई ३–० ले हरायो । सातदोबाटोलाई जिताउन रिपु भुलनले दुई तथा सुमन थापा मगरले एक गोल गरे ।
आइतबारदेखि सशस्त्र प्रहरी मुख्यालय हलचोक मैदानमा सुरु भएको लिगमा १४ टोली सहभागी छन् ।
शीर्ष दुई टिम ‘ए’ डिभिजनमा पुग्दा पुछारका दुई टिम रेलिगेसनमा पर्नेछन् ।


भदौ २  । लिटिल एन्जल्स स्कुलको आयोजनामा बुधबारदेखि एलए/जेटीआई अन्तरविद्यालय खुला लनटेनिस प्रतियोगिता सुरु भएको छ ।
ललितपुरको हात्तिवनस्थित लिटिल एन्जल्स स्कुलको कोर्टमा बुधबार बिहान एक समारोहकाबीच नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेको प्रतियोगिता ८ दिनसम्म चल्नेछ ।
प्रतियोगिताको यो नवौं संस्करणमा विभिन्न ३४ विद्यालयका २ सय ४ खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा छात्रा र छात्रातर्फ ८ वर्ष, १० वर्ष, १२ वर्ष, १४ वर्ष, १६ वर्ष र मिक्स डबल्स गरी कुल १२ इभेन्ट्समा खेलहरु हुनेछन् ।

भदौ २ । गोर्खा स्पोर्टिङ क्लब दमक ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको सेमिफाइनल खेलमा पथरी स्पोर्टिङ क्लब मोरङलाई १–० ले हराउँदै गर्दै गोर्खा स्पोर्टिङले फाइनलमा ठाउँ बनाएको हो ।
गोर्खाको जितमा खेलको तेस्रो मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो ।
उपाधिका लागि गोर्खा स्पोर्टिङले आज  संघर्ष स्पोर्टिङ क्लब ताप्लेजुङको सामना गर्दैछ ।

साउन ३२।  ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप नकआउट फुटवल प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाईनल चरणका खेलसुरु हुँदैछन् ।
आज हुने पहिलो सेमिफाइनल खेलमा संघर्ष स्पोटिङ क्लब उकालीपानी, ताप्लेजुङ र इलाम ११ भिड्ने छन् । खेल सदरमुकामस्थित भानुजन उच्च माविको खेल मैदानमा दिउँसो दुई बजेबाट सुरु हुने छ ।
यस्तै महिला तर्फ हिजाको विजेता सूर्योदय युथ क्लब जाँते मोरङ र लेकसाइड स्पोर्टिङ क्लब ताप्लेजुङ नगरपालिका ६ बीच खेल हुने आयोजकले जनाएको छ । खेल विहान ११ बजेबाट सुरु हुने छ ।
यसैविच हिजो भएको  खेलमा गोर्खा स्पोटिङ क्लब दमक झापाद्धारा सिलगुडि भारत १-० गोल अन्तरले पराजित भएको छ । खेलको पहिलो हाफको १७ औ मिनेटमा झापाका जर्सि नंबर ११ का सुजल श्रेष्ठले गरेको गोलनै गोर्खा स्पोटिङ क्लबको जितका लागि पर्‍याप्त भयो ।
हिजो भएको खेलको म्यान अफदि म्याच भने सिलगुडि भारतका उत्तम गुरुङ भएका छन् । यस्तै हिजो बाट सुरु महिला तर्फको खेलमा मानाभरा युवा क्लब खेजेनिम, ताप्लेजुङलाई ३-० गोल अन्तरले पराजित गर्दै सूर्योदय युथ क्लब, जाँते मोरङले आˆनो विजयी यात्रा सुरुवात गरेको छ ।
खेलको पहिलो हाफको १२ औ र १५ औ मिनेटमा मोरङकि संरचना प्रधान र कोपिला खनालले क्रमस एक/एक गोल गरेका थिए भने दोस्रो हाफमा मोरङकै दिपा न्यौपाने थप एक गोल गरेकि थिईन । पुर्ण समय सम्म ताप्लेजुङलाई दबाबमा राखेको मोरङकै संरचना प्रधान सोमबार भएको खेलको म्यान अफ दि म्याच घोसित भएकि छिन् ।

साउन ३२।  डिएगो कोष्टाले अन्तिमतिर गरेको गोलको मदतमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा वेष्टहृयाममाथि नाटकीय जित हात पारेको छ ।
एन्टोनी कोन्टेको प्रशिक्षणमा रहेको चेल्सीले सोमबार राति भएको लिगको आफ्नो पहिलो खेलमा वेष्टहृयामलाई २-१ गोलको जित निकालेको हो ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा नै पेनाल्टी पायो र इडेन हजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
तर, ७७ औं मिनेटमा वेष्टहृयामले कोलिन्सले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट मात्र बाँकी छँदा चेल्सीका लागि कोष्टाले विजयी गोल गरे ।
खेलमा हजार्ड म्यान अफ दि म्याच बने । उनले आफ्ना समर्थकहरुबीच मैदानमा फर्कन पाउनु राम्रो भएको बताएका छन् । उनले भने, हामीले धेरै राम्रो गर्‍यौं र ९० मिनेट बाघले जस्तै खेल्यौं ।’
हरेक वर्ष आफूले पहिलो खेलमा गोल नगरेको भन्दै उनले भने, गत सिजन सकियो ।  हामी अगाडिको भविश्य हेरिरहेका छौं र समर्थकहरुलाई धेरै खुसी दिन चाहन्छौं ।’

साउन ३२ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालले नेदरल्यान्डस्माथि सनसनीपूर्ण जित हात पारेको छ ।
नेदरल्याण्ड्सको एम्सटेल्भिनमा सोमबार राति सम्पन्न दोस्रो खेलमा नेपालले घरेलु टोलीमाथि १९ रनको महत्वपूर्ण जित हात पारेको हो ।
पहिलो खेलमा ७ विकेटको हार बेहोरेको नेपालको यो जितसँगै शीर्ष चारमा पर्ने सम्भावना कायमै छ । नेदरल्याण्डस्को भने ८ खेलमा यो पहिलो हार हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको ८४ रनको मद्दतमा २१७ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको घरेलु टोली अन्तिम ९ बल खेल्नु अघि नै १९८ रनमा अलआउट भयो ।
अन्तिम दुई ओभरमा उसलाई २३ रन चाहिएको थियो । तर, दोस्रो बलमा सोमपाल कामीले विकेट लिए । तेस्रो बलमा मलिक रन आउट भएपछि नेपालले १९ रनको जित हात पारेको छ ।
खराब सुरुवात गरेको उसले आठौं ओभरमा मात्र २१ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । रे भान डेरले ५६ रन बनाए भने गुर्जितर्सले ४४ र ओडाउडले ३५ रन जोडे । यस्तै टी भान डेरले ३६ रन जोडे ।
नेपालका पारससँगै सोमपाल कामी र बसन्त रेग्मीले २÷२ विकेट लिए । शक्ति गौचन, सन्दिप यलामिछाने र सागर पुनले १÷१ विकेट हात पारे ।
यसअघि नेपालले पनि राम्रो सुरुआत गरेको थिएन । नेपालले ६५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि ११८ रनको महत्वपूर्ण साझेदारी गरे ।
कप्तान खड्का ८४ रनमा आउट भए । पुनले ४५ रन जोडे । उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए । विनोद भण्डारीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । घरेलु टोलीका लागि भान मिकेरनले ३ तथा किङ्मा र रिपोनले २÷२ विकेट लिएका छन् ।
जितपछि नेपाल अंक तालिकाको छैठौं स्थानमा छ । नेदरल्याण्डस् ८ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको हङकङको ९ र तेस्रो स्थानमा रहेको स्कटल्याण्डको पनि ९ अंक नै छ ।
तर, स्कटल्याण्डले ७ खेल खेलेको छ भने हङकङले ६ खेल मात्र खेलेको छ । पपुवा न्यूगिनीको ८ अंक छ । नेपाल र केन्याको समान ६÷६ अंक भएको छ । तर, केन्या पाँचौ र नेपाल छैठौं स्थानमा छ ।

8:36 AM ,
साउन ३० । रियो ओलम्पिकको पदक तालिकामा अमेरिकाको अग्रता कायमै छ । आज सातौं दिनको खेल चलिरहँदा अमेरिका २१ स्वर्ण पदकसहित शिर्ष स्थानमा रहेको छ ।
१३ स्वर्ण पदक जितेको चीन दोस्रो स्थानमा छ भने ९ स्वर्ण पदक जितेको बेलायत तेस्रो स्थानमा छ । ८ वटा स्वर्ण पदक बटुलेको जर्मनी चौथो स्थानमा आँउदा ७ स्वर्ण पदक जितेको जापान पाँचौं स्थानमा रहेको छ ।
रुस, अष्ट्रेलिया र दक्षिण कोरीयाले ६/६ वटा स्वर्ण पदक जितेका छन् । यसैगरी फ्रान्स, ईटाली र हंगेरीले ५/५ वटा स्वर्ण पदक जितेका छन् ।
हालसम्म ४१ राष्ट्रले स्वर्ण पदक जित्दा ६४ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।

साउन २९ । तीन वर्षपछि फुटबलमा फर्किएको न्यूरोड टिम (एनआरटी क्लब)लाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब चितवनमा जारी चौंथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको सेमिफाइनलमा एनआरटीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै आर्मीले फाइनल यात्रा तय गरेको हो ।
आर्मीको जितमा हिरण्य गुरुङ, टेकबहादुर बुढाथोकी, भरत खवास र सन्तोष तामाङले एक–एक गोल गरे ।
एनआरटीका लागि वीरेन्द्र थापाले एक सान्त्वना गोल फर्काएका थिए ।
खेलमा आर्मीका हिरण्य मगर ‘म्यान अफ द म्याच’ घोषित भए ।
अब आर्मीले उपाधिका लागि नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच आइतबार हुने खेलको विजेतासँग खेल्नेछ ।
फाइनल साउन ३१ गने हुनेछ ।

साउन २९ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको छ ।
शनिबार नेदरल्यान्ड्सको एम्स्टेलभीनमा भएको पहिलो खेल विजयका लागि पाएको ९५ रनको झिनो चुनौती नेदरल्यान्ड्सले १६ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।
नेपालका लागि सागर पुन, बसन्त रेग्मी र करण केसीले एक–एक विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्नेक्रममा ३८ ओभर १ बल क्रिजमा टिकेर सम्पूर्ण विकेट गुमाउँदै ९४ रनमात्र बनाउन सक्यो ।
पहिलो विकेटका लागि २३ रनको साझेदारी गर्नेक्रममा अनिल मण्डल २० तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन जोडे ।
त्यसपछि भने नेपालले लगातार विकेट गुमाउनेक्रममा सस्तैमा समेटिएको हो । शरद भेषावकर १४, सोमपाल कामी १२, विनोद भण्डारी ९, सागर पुन ७, राजु रिजाल ३, सन्दीप लामिछाने १ तथा कप्तान पारस खड्का र करण केसी रनको खाता नखोली पभेलियन फर्किए । बसन्त रेग्मी ७ रनमा अविजित रहे ।
यो हारले भने नेपालको अर्को चरणको ढोका खुल्ने सम्भावना कमजोर बनेको छ । नेदरल्यान्ड्स जानुअघि नेपाली टिमले इंग्ल्यान्डमा अभ्यास खेलेकाले यो खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएपनि सोअनुसारको खेल नेपालले प्रदर्शन गर्न नसकेको हो ।

साउन २९ । ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकमा नेपालकी सरस्वती भट्टराई १५ सय मिटर मध्य दूरीको दौडमा हिट्सबाट बाहिरिएकी छिन् ।
हिट्स नम्बर १ मा १४ जना दौडिएको दौडमा उनी १३ औं स्थानमा रहेकी हुन् । सरस्वतीले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भने भंग गरेकी छिन् ।
एथ्लेटिक्सकै हरिप्रसाद रिमालले भने पाँच हजार मिटर दौडमा भदौ १ गते बुधबार प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि शुक्रबार ओलम्पिकमा भाग लिन नेपाली तेक्वान्दो टोली ब्राजिल गयो । ओलम्पिकमा तेक्वान्दोतर्फ निशा रावलले महिला ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन् ।
भदौ ४ गते प्रतिस्पर्धा गर्ने निशाले आफूले अहिलेसम्मकै उत्कृष्ट खेल प्रदर्शन गर्ने जनाएकी छिन् । उनलाई १२ वर्षअघि छनोट चरण पार गरेर एथेन्स ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी संगीना वैद्यले दिएको प्रशिक्षणलेसमेत हौसला बढाएको छ ।
संगीनाले पनि आफूले पूरा गर्न नसकेको खेललाई निशामार्फत पूरा गराउन भरपूर प्रयास गर्ने बताइन् ।
जारी ओलम्पिकमा नेपालका शिरिष गुरुङले पौडीतर्फ राष्ट्रिय कीर्तिमान तोड्नुबाहेक अरु कुनै पनि खेलाडीले उत्साहजनक प्रदर्शन गरेका छैनन् ।
नेपालबाट पौडीवाज शिरिष र गौरिका सिंह, आर्चरीका जीतबहादुर मोक्तान र जुडोकी फपुल्हामु खत्रीले प्रतिस्पर्धा गरिसकेका छन् ।

8:17 AM ,
साउन २० । रियो ओलम्पिक शुक्रबारदेखि ब्राजिलमा सुरु हुँदैछ । ब्राजिलको पर्यटकीय शहर रियो दि जेनेरियोस्थित चर्चित मराकाना रंगशालामा एक भव्य समारोहबीच ग्रीष्मकालिन ओलम्पिक सुरु हुँदैछ ।
ओलम्पिकको यो संस्करणमा विश्वका २ सय ८ राष्ट्रका झण्डै ११ हजार खेलाडी सहभागी हुँदैछन् ।
रियो ओलम्पिकका लागि खेलाडीहरु ब्राजिल पुग्ने क्रम जारी रहँदा चार वर्षपछि जापानमा हुने टोकियो ओलम्पिकको रणनीतिक तयारी समेत सुरु गरिएको छ ।
रियो ओलम्पिकको औपचारिक सुरुवात हुनुभन्दा दुई दिन अघि ब्राजिलमै बसेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको बैठकले चार वर्षपछि टोकियोमा हुने ओलम्पिकका लागि ५ वटा नयाँ खेल थप्ने निर्णय गरेको हो ।
यसरी थपिने खेलहरुमा कराते, सर्फीङ, स्केटबोर्डिङ, स्पोर्ट्स क्लाइम्बिङ र सफट्बल वा बेसमलमध्ये एक हुनेछन् ।
यी खेललाई ओलम्पिकमा प्रवेश दिन यसअघि नै सहमति भए पनि औपचारिक निर्णय भने गरिएको थिएन । यी ५ वटा नयाँ खेल थपिए पनि टोकियो ओलम्पिकका लागि यसअघि तय गरिएका २८ खेल घटाईनेछैन ।

साउन २० । आयोजक ब्राजिलले ओलम्पिक प्रतियोगिताको महिला फुटबलतर्फ विजयी सुरुवात गरेको छ ।
समुह इ अन्तर्गत बुधबार राति भएको खेलमा ब्राजिलले चिनिया महिला टोलीलाई ३-० ले हरायो ।
यही समुहको अर्को खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई १-० ले पराजित गर्‍यो । समुह एफ का खेलमा क्यानाडाले अष्ट्रेलियालाई २-० ले हराउँदा जर्मनीले जिम्बाबेलाई ६-१ ले पराजित गर्‍यो ।
यसैगरी समुह जी को खेलमा अमेरिकाले न्युजिल्याण्डलाई २–० ले हरायो । ओलम्पिक गेम्समा पुरुषतर्फका फुटबल खेलहरु आजबाट हुनेछन् ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.