October 2016

कात्तिक ११ । इङ्लिस लिग कप फुटबलअन्तर्गत बुधबार राति भएका खेलमा म्यानचेस्टर युनाईटेड विजयी हुँदा चेल्सी पराजित भएको छ ।
आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडले म्यानचेस्टर सिटीलाई १-० ले हरायो ।
खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन हुंवा माटाले ५४ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
राति नै सम्पन्न अर्को खेलमा वेष्ट ह्याम युनाईटेडले चेल्सीलाई २-१ ले हराएको छ ।
वेष्ट ह्यामका लागि कोयाटे र फर्नान्डेजले एक–एक गोल गरे । चेल्सीका ग्यारी केहीलले ९० औं मिनेटमा एक गोल फर्काएका थिए ।
लिग कप फुटबलकै अर्को खेलमा साउथह्याम्पटनले सण्डरल्याण्डलाई १-० ले हराएको छ ।

कात्तिक ११  । पाँचथरको फिदिममा सम्पन्न जिल्लास्तरीय नकआउट तरुण कप फुटबल २०७३ प्रतियोगिताको उपाधि फिदिमले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा आङसराङलाई १–० ले पराजित गर्दै फिदिमले उपाधि चुमेको हो ।
फिदिमको जितमा दोस्रो हाफको इन्जुरी समयमा नरेस सम्हाम्जेले निर्णायक गोल गरे ।
फाइनल खेलको ‘म्यान अफ द म्याच’ फिदिमकै सन्जु तामाङ घोषित भए ।
नेपाल तरुण दलको ६४औं स्थापना दिवसको अवसरमा तरुण दल पाँचथरले आयोजना गरेको प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३५ हजार रुपैयाँ हात पारे ।
विजेतालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले पुरुस्कार वितरण गरेका थिए ।

असोज १६ । नेपाल आर्मी क्लबका रत्नजित तामाङ र दिपेश धामी ज्येष्ठ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सको प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।
जेष्ठ ब्याडमिन्टन एकेडेमीको आयोजनामा आइतबारबाट शुरु भएको प्रतियोगिता अन्तर्गतका खेलमा आर्मीका रत्नले ज्येष्ठ ब्याडमिन्टनका प्रिन्स दाहाललाई २१–१३ र २१–८ को सोझो सेटमा पराजित गर्दै प्रि–क्वाटर फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
यस्तै आर्मीकै दिपेश धामीले ज्येष्ठका भरुन सिलाई २१–११ र २१–८ ले पराजित गरे ।
आइतबारका अन्य खेलमा पुलिसका विष्णु कटुवालले आर्मीका रुपेश महर्जनलाई २१–१६ र २१–१२ ले तथा ज्येष्ठका गौचन कठायतले सशस्त्रका सुदिप सेढाईलाई २१–१३ र २१–११ ले स्तब्ध पार्दै अन्तिम १६ मा स्थान बनाए ।
यस्तै पुरुष सिंगल्सतर्फ कैलालीका सञ्जीव खड्का, आर्मीका नवीन श्रेष्ठ, सशस्त्रका विजित थापामगर र भोजपुरका विकास श्रेष्ठले पनि आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।
पुरुष सिंगल्सतर्फ पोखराका भुगोल गुरुङ र लक्ष्मण श्रेष्ठको जोडीले तिनचुलीका विशाल लिङथेप र बसन्त लिम्बुको जोडीलाई २१–११ र २१–१४ ले पाखा लगायो । सशस्त्रका इन्द्र महता र पंकज चन्दको जोडीले फ्लेकसका दिनेश राई र सन्तोष भट्टराईको जोडीलाई २१–१३, १६–२१ र २१–१० ले तथा ज्येष्ठका सुनिल जोशी र गौतम कठायतको जोडीले पाल्पाका विकास कार्की र विनय खातीको जोडीलाई २१–९ र २१–१९ ले पाखा लगाउदै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरे ।
कपिलवस्तुका सन्दिप श्रेष्ठ र रितेश थापाको जोडीले मकवानपुरका सुनिल श्रेष्ठ र अभिषेक बोसबाट तथा आर्मीका राम राई र सुरज महर्जनको जोडीले शशी रावत र अर्जुन छन्त्यालबाट वाक ओभर पाए ।
प्रतियोगिता अन्तर्गत सोमबारबाट पुरुष सिंगल्स र डबल्स तथा मास्टर ३५ का प्रि क्वार्टर तथा क्वार्टर फाइनलका खेलहरु हुने आयोजकले जनाएको छ ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा असोज २० गते सम्म चल्ने प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स, महिला डबल्स, यु–१५ पुरुष, मास्टर ३५ वर्षभन्दा माथि र ४५ वर्ष भन्दा माथिको उमेर समुहमा गरी ६ इभेन्ट समावेश छ ।
प्रतियोगिताको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले उद्घाटन गरेका थिए । प्रतियोगिताको पुरुष एकल विजेताले २५ हजार, उपविजेताले १५ हजार, सेमिफाइनलमा पुगेको दुई खेलाडीले समान ८ हजार, पुरुष डबल्स विजेताले २५ हजार, उपविजेताले १५ हजार, सेमिफाइनल पुग्नेले समान ८ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
महिला डबल्स विजेताले २० हजार, उपविजेताले १२ हजार, सेमिफाइनलमा पुग्नेले समान ७ हजार पाउनेछन् ।
यसैगरी यु–१५ पुरुष तर्फको विजेताले १५ हजार, उपविजेताले ८ हजार, सेमिफाइनलमा पुगेको खेलाडीले समान ५ हजार पाउनेछन् । त्यस्तै मास्टर(३५ वर्ष) को विजेताले २० हजार, उपविजेताले १२ हजार र सेमिफाइनल पुग्नेले ७ हजार, मास्टर(४५वर्ष) तर्र्फको विजयीले २० हजार, उपविजेताले १२ हजार र तेस्रो हुने दुई खेलाडीले ८ हजार पाउनेछन् ।

असोज १६ । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित प्रथम हुन सफल सूदुरपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय वैद्यनाथ बाहिनी अत्तरिया कैलालीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो रनिङ ट्रफि–२०७३’ प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा असोज ११ गतेबाट संचालन भएको सो प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ५ कास्यसहित पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकली सुनसरी दोश्रो तथा ३ स्वर्ण, २ रजत र १ कास्यसहित मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय महेश्वरी बाहिनी सुर्खेत तेस्रो भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राईले आइतबार प्रतियोगिताको बिजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
सो अवसरमा महानिरीक्षक राईले संगठनले आफ्नो क्षमताभित्र रहेर खेलकुदलाई अगाडी बढाईरहेको बताउँदै खेलकुदले आपसी भाईचारामा अभिबृद्धि गराउने विश्वास व्यक्त गरे ।
‘जहाँ नियमित खेलकुद हुन्छ र रंगशाला बन्छ, त्यहाँ धेरै अस्पतालको जरुरत हुँदैन,’ उनले भने, ‘सबैले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन केही न केही खेलकुदलाई आफ्नो अभ्यासको साधन बनाउनु पर्छ र यसबाट सकारात्मक सोचको विकास हुन्छ ।’
आफ्नो खेलकुद जीवनको स्मरण गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राईले सशस्त्र प्रहरी बलका खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शन र मेहनतका लागि प्रेरित समेत गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले खेल सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रतियोगिताको विविध पक्षबारे प्रकाश पारेका थिए ।

6:45 AM
असोज १६ । लामो समयदेखि खेल सामाग्री र खेल पोशाकको व्यवसायमा संलग्न भद्रकालीस्थित भद्रकाली स्पोर्ट्स प्रालिले दोलखाको चरिकोटमा रहेको गौरीशंकर बाल गृहमा आश्रितहरुलाई सहयोगस्वरुप ट्रयाकसुट र टिसर्ट प्रदान गरेको छ ।
गौरीशंकर बाल गृहमा आश्रितहरुका लागि १६ थान ट्रयाकसुट र उत्तिनै थान टिसर्ट उपलब्ध गराइएको हो । भद्रकाली स्पोर्ट्सकी प्रोप्राइटर कृतिका सापकोटाले लामो दूरीका धावक रामसुन्दर कार्कीलाई आइतबार सामाग्री हस्तान्तरण गरिन् ।
बालगृहलाई हस्तान्तरण गर्नेगरी कार्कीलाई सामाग्री हस्तान्तरण गरिएको हो । कार्कीले आइतबारै प्राप्त सामाग्री चरिकोट पठाइदिएको जानकारी दिए ।
कार्कीको खेलकुदमा लगन र सामाजिक भावको कदर गर्नुका साथै सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्य अनुरुप सामाग्री सहयोग स्वरुप प्रदान गरिएको प्रोप्राइटर सापकोटाले बताइन् । करिब २० हजार ८ सय रुपैयाँको सामाग्री प्रदान गरिएको सापकोटाले जनाइन् ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.