Responsive Ad Slot

ताजा समाचार

latest

रिड मोडल कलेज शीर्ष स्थानमा

Jan 16, 2017

/ by Arena Tv

माघ ३ । १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा रिड मोडल कलेज उक्लिएको छ ।

भारतीय राष्ट्रिय खेलाडीको बर्चश्व रहेको स्वयम्भू ठूलो भर्‍याङमा अवस्थित रिड मोडल कलेज आफ्नो अपराजित यात्रा कायम राख्दै शीर्ष स्थानमा उक्लिएको हो ।
बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको नवनिर्मित कोटमा आइतबार भएका दुबै खेलमा विजय हासिल गर्न सफल रिड मोडलले पहिलो खेलमा बिजेश्वरी ज्ञान मन्दिर स्कुललाई पराजित गर्‍यो भने दोस्रो खेलमा नेपाल पुलिस क्लवलाई पाखा लगाउन सफल भयो ।
आइतबार भएको पहिलो खेलमा बिजेश्वरी ज्ञान मन्दिरलाई २५–६, २५–४ र २५–६ को सोझो सेटले पराजित गरेको रिड मोडलले दोस्रो खेलमा नेपाल पुलिसलाई २५–७, २५–१२ र २५–२० को सोझो सेटमा पाखा लगाउन सफल भयो ।
लिगमा ७ खेल खेलेको रिड मोडलले अपराजित रहँदै २१ अंक जोडेको छ ।
सशस्त्र प्रहरीको एपीएफ क्लव र न्यु डायमन्ड एकेडेमीको पनि २१ अंक नै भए पनि अपराजितका आधारमा रिड मोडलले शीर्ष स्थानमा रहन सफल भएको हो । रिड मोडलसँग एपीएफ र न्यु डायमन्ड दुवै पराजित भएका थिए ।
सोमबार हुने न्यु डायमन्ड र एपीएफबीचको खेलबाट दोस्रो र तेस्रो स्थानमा रहने टिमको छिनोफानो हुनेछ ।
रिड मोडलले सोमबार पहिलो खेल आयोजक ढोरपाटन स्पोर्टस् क्लवसँग खेल्ने छ भने दोस्रो खेलमा नेपाल आर्मीको सामना गर्नेछ ।
आइतबार नै भएको अर्को खेलमा पुरानो नैकापको न्यु डायमन्ड एकेडेमीले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । प्रतिभा माली हावी भएको खेलमा न्यु डायमन्ड २५–१३, २५–१५ र २५–१९ ले विजयी भयो । आफ्नो सातौं खेलमा विजयी भएको न्यु डायमन्ड एकेडेमीले ८ खेलबाट २१ अंक जोडेको छ ।
आइतबारै दोस्रो खेल खेलेको पश्चिमाञ्चलले न्यु डायमन्ड स्पोर्टस् क्लवलाई ३–० को सेटमा पराजित गर्‍यो । पश्चिमाञ्चल २५–१४, २५–९ र २५–८ को सेटमा विजयी भयो । त्यसैगरी नेपाल आर्मीले आयोजक ढोरपाटन स्पोर्टस् क्लवलाई २५–१४, २५–१६ र २५–२० को सोझो सेटमा पराजित गर्‍यो ।
पश्चिमाञ्चल आफूले खेलेका ९ खेलमध्ये ५ मा जित र ४ मा हार बेहोर्दै १५ अंक जोडेर पाँचौं स्थानमा झरेको छ । नेपाल पुलिस क्लवले ९ खेलबाट १८ अंक जोड्दै लिगको चौथो स्थान कब्जा गरेको छ ।
त्यसैगरी ८ खेल खेलेको नेपाल आर्मीले ४ जितसँगै १२ अंक जोडेको छ भने आयोजक ढोरपाटन स्पोर्टस् क्लवको ८ खेलबाट ८ अंक जोडेको छ । रामेछापको चन्डेश्वरी युवा क्लवले ९ खेलबाट ७ अंक जोडेको छ । न्यु डायमन्ड स्पोर्टस् क्लवको ९ खेलबाट २ अंक छ भने लिगको पुछारमा रहेको बिजेश्वरी ज्ञान मन्दिरले ९ खेलबाट एक अंक जोडेको छ ।
लिग अन्तर्गत सोमबार पहिलो चरणको अन्तिम ३ खेल हुँदैछ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat