May 2017

बैशाख २७ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई हराउँदै किङ्स इलाभेन पञ्जावले प्लेअफमा पुग्ने संभावना कायमै राखेको छ ।


मोहालीमा भएको खेलमा पञ्जावले कोलकातालाई १४ रनले हराउँदै शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको हो ।
१ सय ६८ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन मात्रै बनाउन सक्यो ।
उसका लागि क्रिस लिनले ८४ तथा सुनिल नरिन र मनिष पाण्डेयले समान १८ रन बनाएका थिए । पञ्जावका मोहित शर्मा र राहुल तेवातियाले दुई–दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पञ्जावले ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो ।
उसका लागि ग्लेन म्याक्सवेलले ४४, ऋद्धिमन शाहले ३८ तथा मनन बोहराले २५ रन बनाए । कोलकाताका क्रिस वोक्स र कुलदीप यादवले दुई–दुई विकेट लिए ।
दुई खेल बाँकी हुँदा पाँचौं स्थानमा रहेको पञ्जावको १२ अंक भएको छ । उ चौथो स्थानको हैदरावाद भन्दा तीन अंकले पछि छ ।
दोस्रो स्थानको कोलकाताको १६ अंक छ । १८ अंकसहित तालिकाको शीर्ष स्थानमा भने मुम्बई इन्डियन्स रहेको छ ।

बैशाख २७ । युभेन्टस् च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मोनाकोलाई २-१ ले हराउँदै समग्रमा ४-१ को जितसहित युभेन्ट्स उपाधि नजिक पुगेको हो ।
पहिलो लेगमा पनि युभेन्ट्सले मोनाकोलाई उसकै घरेलु मैदानमा २-० ले हराएको थियो ।
घरेलु मैदानमा भएको खेलमा इटालिय युभेन्टस्लाई जिताउन मारिओ मान्जुकी र डानी एल्भेसले गोल गरे
मोनाकोका लागि केलिएन एमबाप्पेले एक गोल फर्काए । युभेन्टस पछिल्लो तीन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो ।
युभेन्टसले पछिल्लो पटक सन् १९९६ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
सन् २०१५ मा फाइनलमा पुगेको युभेन्टस् बार्सिलोनासँग ३-१ ले पराजित भएर उपविजेतामा सीमित भएको थियो ।
युभेन्टसले आगामी जुन ३ मा हुने फाइनलमा रियल मड्रिड वा एथ्लेटिको मड्रिडसँग खेल्ने छ ।
रियल र एथ्लेटिको मड्रिडबीचको दोस्रो सेमिफाइनल लेज आज राति हुँदै छ । पहिलो लेगमा भने रियल मड्रिड ३-० ले विजयी भएको थियो ।

बैशाख २४ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले शानदार जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ५-० को फराकिलो अन्तरले पराजित ग¥यो । घरेलु मैदानमा म्यानसिटीलाई जिताउन डेभिड सिल्भा, भिन्सेन्ट कोम्पानी, केभिन डे ब्रायन, राहिम स्टर्लिङ र निकोलस ओटामेन्डीले एक/एक गोल गरे ।
यो जितसँगै म्यानसिटी ३५ खेलबाट ६९ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
३५ खेलबाटै ७७ अंकसहित टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ । एक खेल कम खेलेको चेल्सी ८१ अंकसहित उपाधि नजिक पुगेको छ ।
प्रिमियर लिग अन्तर्गत राति भएको खेलमा हल सिटीलाई सण्डरल्याण्डले २-० ले हराएको छ । दोस्रो श्रेणीमा झरिसकेको सण्डरल्याण्डसँग पराजित भएपछि हल सिटी पनि रेलिगेशनको खतरामा पुगेको छ ।
राति एभर्टनलाई १-० ले हराउँदै स्वान्सी सिटी भने तालिकाको १७ औं स्थानमा उक्लिएको छ । उसको ३६ खेलबाट ३५ अंक भएको छ । समान खेलबाट हल सिटीको ३४ अंक छ ।
राति भएका अन्य खेलमा लेष्टर सिटीले वाट्फोर्डलाई ३-० ले हराउँदा बर्नमाउथ र स्टोक सिटी तथा बर्न्ले र वेष्ट ब्रोमले २÷२ गोलको बराबरी खेलेका छन् ।
इङ्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुल र साउथह्याम्पटन तथा आर्सनल र म्यानचेस्टर युनाईटेड भिड्नेछन् ।

बैशाख २४ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटअन्तर्गत शनिबार राति भएका खेलमा मुम्बई इन्डियन्स र राईजिङ पुने सुपरजाईन्ट्स विजयी भएका छन् ।


फिरोज शाह कोट्ला मैदानमा भएको खेलमा मुम्बईले घरेलु टोली दिल्ली डेयरडेभिल्सलाई १ सय ४६ रनको विशालअन्तरले पराजित गर्‍यो ।
खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १२ रन बनायो ।
मुम्बईका लेण्डल सिमोन्सले ६६ रन जोड्दा काईरन पोलार्डले अविजित ६३ रनको योगदान दिए ।
जवाफमा २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले १४ औं ओभरमा अलआउट हुनुपुर्व ६६ रन मात्रै बनाउन सक्यो ।
जितसँगै आइपीएल क्रिकेटको प्ले अफमा पुगिसकेको मुम्बईले अंक तालिकाको शीर्ष स्थानको पकडलाई बलियो पारेको छ ।
आइपीएलअन्तर्गत शनिबार राति भएको अर्को खेलमा राईजिङ पुने सुपरजाईन्ट्सले सनराईजर्स हैदरावादलाई १२ रनले पराजित गरेको छ ।
खेलमा पहिले ब्याटिङ गरेको पुनेले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन बनायो । जवाफमा १ सय ४९ रनको मध्यम लक्ष्य पछ्याएको हैदरावादले १ सय ३६ रन मात्रै बनाउन सक्यो ।
हैदरावादलाई सस्तैमा समेट्न पुनेका जयदेव उनाद्कतले अन्तिम ओभरमा ह्याट्रिक गरेका थिए ।
हैदरावादलाई जितका लागि १३ रन चाहिएको अवस्थामा उनाद्कतले ह्याट्रिक गर्दै पुनेको जित सुनिश्चित गरे । यो जितपछि पुने अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
आईपीएल क्रिकेटमा आज राती रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाईट राईडर्स तथा किङ्स ईलेभन पञ्जाव र गुजरात लायन्स भिड्नेछन् ।

बैशाख २३ । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरको उपाधि होडमा गम्भीर धक्का लागेको छ ।


शुक्रबार राति घरेलु मैदान ओलम्पिक स्टेडियममा वेस्टह्याम युनाइटेडले दोस्रो स्थानको टोटनह्याम हट्सपर एक गोलले पराजित गरेको हो ।
वेस्टह्यामका लागि दोस्रो हाफको ६५ औं मिनेटमा लेन्जिनीले गरेको गोल नै निर्णायक बन्यो । पराजित भएसँगै टोटनह्यामको ३५ खेलबाट ७७ अंक मात्र भएको छ ।
एक खेल कम खेलेको चेल्सी ८१ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै ६९ अंकको लिभरपुल तेस्रो स्थानमा छ ।
४२ अंकका साथ ९ औं स्थानमा रहेर शीर्ष ६ मा अट्ने सम्भावना गुमाएको वेष्टह्यामले रेलिगेशनको सम्भावना भने लगभग टारेको छ ।

बैशाख २३ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले स्टार खेलाडी लियोनल मेसीमाथि लगाएको ४ खेलको निलम्बन फुकुवा गरेको छ ।


मेसीविरुद्ध सहायक रेफ्रिलाई गालीगलौज गरेको आरोप लगाइएको थियो । तर, त्यसलाई प्रमाणित गर्ने आधारहरु नभेटिएकाले मेसीमाथिको कठोर सजाय हटाइएको फिफाले जनाएको छ ।
अर्जेन्टिनी फुटबल संघले मेसीको निलम्बनमा फिफामा अपील गरेको थियो । त्यसमा फिफाको अपिल कमिटीले नयाँ निर्णय दिएको हो ।
गत मार्चमा अर्जेन्टिनाले घरेलु मैदानमा चिलीमाथि १-० को विजय हात पारेको खेलपछि घटनामा मेसी दोषी पाइएका थिए । मेसीले नै सो खेलमा पेनाल्टी गोल गरेका थिए ।

बैशाख २१ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा ईटालीको युभेन्टसले फ्रान्सको मोनाकोलाई हराएको छ ।


बुधबार राति फ्रान्समा भएको खेलमा पाहुना टोली २-० ले विजयी भएको हो । खेलमा युभेन्टसलाई विजयी गराउन दुवै गोल गोन्जालो हिगुवानले गरे ।
जितसँगै युभेन्टसले प्रतियोगिताको फाइनल पुग्ने सम्भावना बलियो पारेको छ । उता मोनाको भने ईटालीमा हुने दोस्रो लेगको खेलपूर्व दबाबमा आएको छ ।
दोस्रो लेगको खेल अर्को हप्ता ईटालीको टुरिनमा आयोजना हुनेछ ।
च्याम्पियन्स लिग सेमिफाइनलको अर्को खेलमा स्पेनको रियाल मड्रिडले एथ्लेटिको मड्रिडमाथि पहिलो लेगमा ३-० को अग्रता लिएको छ ।

बैशाख २१ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राईजिङ पुने सुपरजाईन्ट्सले कोलकाता नाईट राईडर्सलाई ४ विकेटले हराएको छ ।


बुधबार राति कोलकाताको ईडन गार्डेनमा भएको खेलमा घरेलु टोलीले पहिले ब्याटिङ गर्दै १ सय ५५ रन बनायो । कोलकाताका लागि मनिष पाण्डेले सर्वाधिक ३७ रन बनाए ।
जवाफमा १ सय ५६ रनको चुनौती पुनेले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो । पुनेका लागि राहुल त्रिपाठीले सर्वाधिक ९३ रन जोडे ।
यो जितले पुनेलाई आइपीएलको अंक तालिकामा तेस्रो स्थानमा पुर्‍याएको छ । ११ खेलबाट उसको १४ अंक भएको छ ।
समान खेलबाट १४ अंक नै जोडेको कोलकाता रन रेटको आधारमा दोस्रो स्थानमा छ ।
एक खेल कम खेलेको मुम्बई इन्डियन्स भने १६ अंकको साथ शीर्ष स्थानमा रहँदै प्ले अफ्का लागि छनोट भइसकेको छ ।
आइपीएल क्रिकेटमा आज दिल्ली डेयरडेभिल्स र गुजरात लायन्स भिड्नेछन् ।


बैशाख १९ । मुम्बई इन्डियन्स भारतमा जारी आइपीएल ट्वेन्टी-ट्वेन्टी क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।


मुम्बईले आफ्नो दशौं खेलमा सोमबार रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै चार खेल खेल्न बाँकी छँदै प्लेअफमा ठाउँ पक्का गरेको हो ।
घरेलु मैदानमा १ सय ६३ रनको चुनौती मुम्बईले एक बल खेल्न बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान रोहित शर्माले अविजित ५६ रन जोड्दै मुम्बईलाई जिताएका हुन् ।
यसअघि बैंग्लोरले एबी डे भिलायर्सको ४३ तथा पवन नेगीको ३५ रनको मद्दतले ८ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । यो खेलसँगै मुम्बईको १० खेलबाट १६ अंक भएको छ ।
सोमबार नै भएको दोस्रो खेलमा राईजिङ पुने सुपरजाईन्ट्सले गुजरात लायन्सलाई ५ विकेटले हराएको छ । खेलमा पहिले व्याटिङ गरेको गुजरातले एक बल खेल्न बाँकी छँदा अलआउट हुनुपुर्व १ सय ६१ रन जोड्यो ।
गुजरातका ब्रेण्डन म्याक्कुलमले ४५ रन तथा ईसान किसनले ३१ रन जोडे । जवाफमा १ सय ६२ रनको लक्ष्य पुनेले खेलमा एक बल खेल्न बाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्‍यो ।
पुनेको जितमा बेन स्टोक्सको अविजित १ सय ३ रनको शतकीय पारीको योगदान थियो । आइपीएल क्रिकेटमा आज दिल्ली डेयरडेभिल्स र सनराईजर्स हैदरावाद भिड्नेछन् ।

बैशाख १९ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई १-० ले हराएको छ ।


वाट्फोर्डको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन एम्रे च्यानले निर्णायक गोल गरे ।
जितसँगै लिभरपुलले जारी लिगको शीर्ष चारमा पर्ने सम्भावना बलियो पारेको छ । लिगमा ३५ खेलबाट लिभरपुलको ६९ अंक छ ।
एक खेल कम खेलेको चेल्सी ८१ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको टोटनह्यामको ७७ अंक छ ।
लिभरपुलभन्दा तल रहेका म्यान्चेस्टर सिटीको ६६ अंक तथा म्यानचेस्टर युनाईटेडको ६५ अंक रहेको छ ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.