कार्तिक १० । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को अध्यक्षमा ९ जनाले उम्मेदवारी दिएका छन् । फिफाको नयाँ अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्ने समय सकिएसँगै अध्यक्षमा ९ प्रत्याशी देखा परेका हुन् ।
आर्थिक अनियमितता, भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण लगायतका मुुद्दामा फिफाको वर्तमान नेतृत्वपंक्ति मुछिएपछि विश्वफुटबलको सर्वोच्च निकायमा नेतृत्वको संकट चुलिएको छ । यस्तो अवस्थामा अध्यक्ष सेप ब्लाटरले पद त्याग्ने घोषणा गर्दै आगामी फेब्रुअरीमा विशेष साधारणसभा बोलाएका छन् ।
ज्युरिचमा हुने त्यही साधारणसभाले फिफाको नयाँ अयक्ष चयन गर्नेछ । फिफा अध्यक्षका लागि युरोपियन फुटबल महासंघ (युएफा)का महासचिव जियानी ईन्फान्टीनोले पनि उम्मेदवारी दिएका छन् । युएफा अध्यक्ष मिचेल प्लाटिनी समेत ब्लाटरसँगै आर्थिक अनियमितताको आरोपमा मुछिएर निलम्बित भएपछि युएफाबाटै अर्को उम्मेदवारले मनोनयन दिएको बताईएको छ ।
स्विस फुटबल प्रशाशक ईन्फान्टिनोलाई प्लाटिनीको विकल्पको रुपमा हेरिएको छ ।
प्लाटिनी र ईन्फान्टिनो बाहेक जोर्डनका राजमुकार अली बीन अल हुसैन, एसियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सलमान बिन ईब्राहिम अल खालीफा, दक्षिण अफ्रिकाका टोक्यो सक्सवेल, ट्रिनिडाड एण्ड टोबागोका डेभिड नाखिद, फिफाका पूर्व पदाधिकारी जेरोमी स्याम्पेन, लाईबेरियन फुटबल संघका अध्यक्ष मुसा बिलीटी र नाईजेरियाका सेगुन ओडेग्बाकीले पनि फिफा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सबै उम्मेदवारले कम्तिमा ५ सदस्य राष्ट्रको लिखित समर्थन जुटाउनुपर्ने फिफा विधानमा उल्लेख छ । फिफाले उम्मेदवारहरुको मनोनयन सुची भने सार्वजिनक गरेको छैन ।

Sports News Channel of NEPAL.
No comments
Post a Comment
Thanks.