आज बंगलादेश जाँदै यू-१९ टोली

माघ ६। दोस्रो चरणसम्म पुग्ने लक्ष्यका साथ विश्वकप क्रिकेट खेल्न नेपाली टोली भोली बंगलादेशतर्फ प्रस्थान गर्दैछ । नेपालको युवा क्रिकेट टोलीले विश्वकपमा भाग लिन लागेको यो साताैं पटक हो ।
यू-१९ विश्वकप क्रिकेटमा पटक-पटक शक्तिशाली टिमहरुलाई हराएर सनसनी मच्चाएको गौरवपूर्ण इतिहास नेपालसित छ । के यो टिमले त्यस्तो इतिहास दोहोर्‍याउने आशा गर्न सकिन्छ त ? टिमका कप्तान तथा कोचले एक स्वरमा टोलीमा त्यस्तो क्षमता रहेको दावी गरेका छन् ।
आउँदो ८ माघदेखि बंगलादेशमा हुने विश्वकपमा टेस्ट मान्यताप्राप्त ९ सहित १६ राष्ट्र समावेश छन् । नेपालको समूहमा रहेको शक्तिशाली अष्ट्रेलियाले अन्तिम समयमा सुरक्षाको कारण देखाउँदै सहभागिता रद्द गरेको थियो । अब नेपालको समूहमा भारत, न्यूजिल्याण्ड र आयरल्याण्ड रहेका छन् । नेपालले समूह चरण पार गर्नका लागि दुई टिमलाई हराउनुपर्ने हुन्छ ।
प्रशिक्षक जगत टमाटा र कप्तान राजु रिजालको लक्ष्य छ, भारत र न्यूजिल्याण्डमध्ये कम्तिमा एउटा टोलीलाई स्तब्ध बनाउने । छनोट प्रतियोगिताको फाइनलमा आयरल्यान्डलाई ३ विकेटले हराएर नेपाल विश्वकपका लागि छानिएको थियो । त्यसैले विश्वकपमा पनि आयरल्याण्डविरुद्ध नेपालको उच्च आत्मविश्वास रहने छ ।
न्यूजिल्याण्डलाई सन् २००६ मा अयोजित यू-१९ विश्वकपको प्लेट च्याम्पियनसिपतर्फ फाइनलमा नेपालले पराजित गरेको थियो । उक्त स्मरण पनि टोलीको हौसला बढाउनलाई काम लाग्ने अपेक्षा गरिएको छ । भारतसित भने नेपालले अहिलेसम्म कुनै पनि उमेर समूहको क्रिकेटमा जित हासिल गर्न सकेको छैन ।
प्रशिक्षक टमाटाले बंगलादेशको पीच नेपाली खेलाडीहरुका लागि बढि अनुकल रहेको दाबी गरेका छन् । उनी भन्छन्, ‘सामान्यतया सवकन्टिनेन्ट पिचहरु अलिकति स्लो र स्पिनरलाई मद्दत गर्ने हुन्छन् । यसले फास्ट बलरलाई खासै हेल्प गर्दैन ।’ उनले न्यूजिल्याण्डको टिम स्पिनिङ पिचमा खासै अभ्यस्त नभएकाले त्यसको फाइदा नेपालले उठाउन सक्ने आँकलन गरे ।
कप्तान रिजालले पनि न्यूजिल्याण्ड र भारतमध्ये एउटालाई हराएर समुह चरण पार गर्ने लक्ष्य लिएको बताए ।
सन्तुलित टिम
प्रशिक्षक टमाटा र कप्तान रिजाल दुवैले नेपालको युवा टोलीमा बलिङ र ब्याटिङको सन्तुलन राम्रो रहेको बताए ।
विकेटलाई मध्यनजर गर्दै चार जना स्पिनर टोलीमा समावेश गरिएको छ र, नेपालले बलिङतर्फ फास्ट बलरभन्दा स्पिनरबाट बढि आशा राखेको छ
१४ सदस्यीय टोलीमा अधिकांश अलराउण्डर छन्, जसले बलिङ र ब्याटिङ दुवैमा योगदान दिन सक्छन् । अलराउण्डरको वर्चश्व हुनु नै नेपाली टोलीको सबैभन्दा मजबुत पक्ष रहेको बताउछन् कप्तान राजु रिजाल । उनी आफैं एक अलराउण्डर हुन्, जो मध्यक्रममा ब्याटिङ गर्नुका साथै विकेटकिपरको भूमिका निर्वाह गर्छन् ।
नेपाली टोलीमा आरिफ शेख सबैभन्दा अनुभवी हुन् । नेपालको सिनियर राष्ट्रिय टोलीबाट समेत थुप्रै पटक प्रतिनिधित्व गरिसकेका आरिफको ब्याटिङ नेपालका लागि महत्वपूर्ण हुने मानिएको छ । आरिफबाहेक ओपनर सुनील धमला, दिपेन्द्र ऐरी र कप्तान रिजालमाथि नेपालको ब्याटिङ निर्भर रहने छ ।
विकेटलाई मध्यनजर गर्दै चार जना स्पिनर टोलीमा समावेश गरिएको छ र, नेपालले बलिङतर्फ फास्ट बलरभन्दा स्पिनरबाट बढि आशा राखेको छ । फास्ट बलरहरुसित स्पिड नभए पनि स्वीङ र भेरियसन राम्रो भएको प्रशिक्षक टमाटाले बताए । ‘नेपालको बलिङ स्पिनमा बढि निर्भर छ, तर यसको अर्थ फास्ट बलिङ कमजोर छ भन्ने होइन,’ उनले भने ।
मध्यक्रमका अनुभवी ब्याट्सम्यान सौरभ खनाल चोटका कारण विश्वकपबाट बाहिर रहनुले भने नेपाली टोलीलाई धक्का पुगेको छ । यसअघि पनि विश्वकप खेलिसकेका सौरभ विष्फोटक ब्याटिङका लागि चिनिन्थे । उनको स्थानमा कुशल भुर्तेललाई ल्याइएको छ । प्रशिक्षक टमाटाले सौरभको अनुपस्थितिले टिममा प्रभाव परे पनि कुशलले त्यसलाई केहि हदसम्म पूर्ति गर्ने बताए ।
कस्तो छ तयारी ?
पाँच महिनादेखि निरन्तर अभ्यासमा रहेका नेपाली टोलीको तयारी राम्रो रहेको प्रशिक्षक टमाटाको भनाइ छ । विश्वकप छनोट प्रतियोगितायता खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिएको थियो ।
टोलीले हालै मात्र अफगानिस्तानको टोलीसित दुईवटा अभ्यास म्याच खेल्योे । बलिया टोलीसित दुवै म्याचमा पराजित भए पनि अनुभवका हिसाबले नेपाललाई फाइदा भएको टमाटा बताउँछन् ।
पहिले ब्याटिङ गर्दा २ सय देखि २५० सम्मको स्कोर जोड्ने तथा पहिले बलिङ गर्दा विपक्षी टोलीलाई २ सय रनभित्र समेट्ने रणनीति नेपालको छ । कप्तान रिजाल भन्छन्-‘पहिले बलिङ गर्दा २ सय रनभित्रै विपक्षीलाई अलआउट गर्न सक्यौं भने हामी चेज गर्नसक्छौं । पहिले ब्याटिङ गर्दा दुई सयभन्दा माथि बनायौ भने त्यसलाई रक्षा गर्न सक्छौं ।’
बन्ला त इतिहास ?
समूह चरण पार गर्न नसक्ने टिमले प्लेट च्याम्पियनसिपतर्फ प्रतिस्पर्धा गर्न पाउँछन् । नेपाल एक पटक प्लेट च्याम्पियन र एक पटक उपविजेता भएको इतिहास छ
सन् २००० मा पहिलोपटक विश्वकपमा स्थान बनाएको नेपालले २०१० र २०१४ बाहेक सबै विश्वकप खेलेको छ ।
सात पटकको सहभागीतामा नेपालले अहिलेसम्म यू-१९ विश्वकपको समूह चरण पार गर्न सकेको छैन । यसपटक यो सफलता हासिल गरेमा नेपालले नयाँ इतिहास बनाउने छ ।
समूह चरण पार गर्न नसक्ने टिमले प्लेट च्याम्पियनसिपतर्फ प्रतिस्पर्धा गर्न पाउँछन् । नेपाल एक पटक प्लेट च्याम्पियन र एक पटक उपविजेता भएको इतिहास छ ।
नेपालबाहेक अरु टेस्ट नखेल्ने राष्ट्रले अहिलेसम्म प्लेट च्याम्पियनसिप जितेका छैनन् । यू-१९ विश्वकपको उपाधि अहिलेसम्म भारत र अष्ट्रेलियाले ३-३ पटक जितेका छन् । यस्ते पाकिस्तानले २ पटक जितेको छ भने दक्षिण अफ्रीका  र इंग्ल्याण्डले एक-एक पटक जितेका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.