अष्ट्रियालाई अविश्वसनीय रुपमा २-१ गोलले हराएर अन्तिम १६ मा प्रबेश गरेको आइसल्याण्डका स्टार मिडफिल्डर गिल्फी सिगर्डसन मान्छन् कि उनी र उनको टोलीले प्रि-क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई हराउने अपेक्षा गरेको छैन ।
आफ्नो टोली आइसल्याण्डलाई इंग्लिस प्रिमियर लिग बिजेता लिसेस्टरसँग तुलना गर्दै उनले भने, ‘इंग्ल्याण्डबिरुद्ध हामी एकदमै ठूलो अण्डरडगको रुपमा छौं ।’
आइसल्याण्ड समूह एफको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । खेलको अन्त्यतिर गरेको गोलको सहयोगमा अष्ट्रियालाई २-१ ले पराजित गर्दै उसले समूहमा पोर्चुगललाई उछिन्यो र राउण्ड अफ सिक्स्टिनमा रोय हट्सनको टोलीसँगको भेट पक्का गर्यो ।
पहिलो पटक ठूला प्रतियोगिताको फाइनल चरण खेलेको आइसल्याण्डको यस ऐतिहासिक उपलब्धि किन पनि उल्लखनीय छ भने त्यहाँको जनसङ्ख्या मात्र ३ लाख २३ हजार छ । र, यो, प्रिमियर लिग विजेता लिइस्टर शहरको जनसङ्ख्या भन्दा मात्र ७ हजार कम हो ।
र सिगर्डसनले मानेका छन् कि इंग्ल्याण्डबिरुद्ध आफनो टोलीले पक्कै पनि अनुकुल नतिजा हासिल गर्न सक्दैन । र यसमा उनीहरु दुःखी पनि हुँदैनन् । यद्यपि इंग्लिस मिडियाका केहि हेडलाइनले भने उनी र उनको टोलीलाई केहि दुःखी बनाउन सक्नेछ ।
यदि आइसल्याण्ड इंग्ल्याण्डबिरुद्ध अण्डरडगको रुपमा पेश भयो भने ? भन्ने पत्रकारले सोधेको प्रश्नमा सिगर्डसनले भने ‘हो मैले पनि त्यही सोचिरहेको छु । हाम्रो मुलुकको आकार पनि लिसेस्टरको जस्तै छ ।’
उनले थपे, ‘हामीलाई राम्रोसँग थाहा छ कि इंग्ल्याण्ड एउटा उत्कृष्ट टोली हो । टोलीमा अनुभवी र युवा खेलाडीको बर्चश्व छ । र हामी ‘अण्डरडग’ हौं ।’
‘हामीले यसअघि पनि ठूला टोलीहरु जस्तै पोर्चुगल, नेदरल्याण्ड्स, चेक गणतन्त्र, टर्की लगायतसँग खेलेका थियौं र राम्रो नतिजा हासिल गरेका थियौं’ सिगर्डसनले अघि भनेका छन्, ‘हामीलाई कुनै दबाव हुनेछैन । तर, तपाईं इंग्ल्याण्डलाई हेर्नुस्, यदि उ हामीसँग हार्यो भने इंग्लिस मिडियाले थोरै प्रचार गर्नेछन् ।’
यता अहिले इंग्ल्याण्ड पनि आफ्नो राम्रो लयको खोजीमा छ । समूहमा दुई बराबरी र १ जितपछि उ समूह ‘बी’ मा दोस्रो हुँदै नकआउट चरणमा पुगेको हो । उसले रुस र स्लोभाकियासँग बराबरी खेलेको थियो भने एकमात्र जित वेल्सबिरुद्ध निकालेको थियो ।
सिगर्डसनले टिप्पणी गरेका छन् कि ‘इंग्लिस टोलीमा धेरै कमजोरी छैन । टोली निक्कै राम्रो छ र उसले कठिन समूहमा मध्यम खेल प्रदर्शन गरेरैपनि राम्रो नतिजा निकालेको छ । उसको उत्कृष्ट प्रदर्शन हेर्न बाँकी नै छ ।’
‘हामीले इंग्ल्याण्डबिरुद्ध लामो समयसम्म रक्षात्मक खेल खेल्नुपर्नेछ’ उनले भने, ‘तर हामीले यसअघि नै प्रमाणित गरिसकेका छौं कि हामी यसका लागि सक्षम छौं ।’


Sports News Channel of NEPAL.
No comments
Post a Comment
Thanks.