Responsive Ad Slot

पुलिसले हात पार्यो १९औं बुढासुब्बा गोल्डकप उपादी

No comments

Feb 26, 2017

फागुन १४ । १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।


शनिबार भएको फाइनलमा संकटा क्लबलाई ‘सडनडेथ’मा हराउँदै पुलिसले उपाधि जितेको हो ।
निधारित् ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा पनि ३–३ को बराबरी भएपछि सडनडेथमा पुलिस भाग्यशाली सावित भएको हो ।
यसअघि, खेलको २८औं मिनेटमा राज पौडेलको गोलबाट संकटाले अग्रता लिएपनि ८०औं मिनेटमा जुमनु राईले पेनाल्टीमार्फत् गोल गर्दै बराबरी गरेका थिए ।
जारी सिजनमा ‘मेडन’ उपाधि जितेको पुलिसले पाँच लाख रुपैयाँ हासिल गरेको छ । उपविजेता संकटाको भागमा दुई लाख ५० हजार रुपैयाँमात्र हात परेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी संकटाका गोलरक्षक विनय श्रेष्ठ घोषित भए । उनले एकथान यामाहा मोटरसाइकल प्राप्त गरे ।
फाइनल खेलको ‘म्यान अफ द म्याच’ पुलिसका गोलरक्षक रोशन खड्का घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर पुलिसका जुमनु राई, उत्कृष्ट डिफेन्डर पुलिसकै विक्रम धिमाल र उत्कृष्ट प्रशिक्षक पुलिसका कुमार कट्वाल घोषित भए । तीनैजनाले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
सर्वाधिक गोलकर्ता पुलिसका जुमनु राई र संकटाका अनिल गुरुङ घोषित भए । उनीहरुले १२ हजार ५०० रुपैयाँ पाए ।

नेपालले इमर्जिङ कप खेल्ने

No comments

Feb 25, 2017

फागुन १३  । नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ । चैत १२ देखि बंगलादेशमा हुने यो प्रतियोगितामा भारत र पाकिस्तानसहित ४ टेष्ट देशको यू-२३ वा ए टिमसहित ८ देशले भाग लिनेछन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको तालिका नजिक पर्ने भन्दै यूएईले नाम फिर्ता लिएपछि एसीसीले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय लिएको थियो । एसीसी बोर्ड बैठकको यो निर्णयले नेपालले इमर्जिङ कप गुमाउने अवस्था आएको थियो ।
तर, हङकङले प्रतियोगिता खेल्ने बचन दिएको छ । साथै नेपालले पनि निर्णयमा पुनर्विचार गर्न अपील गरेका थियो । क्रिकेट संघकी पूर्व सीईओ एवं आईसीसी स्थानीय प्रतिनिधि भावना घिमिरेले भनिन्, हामीले खेलाडीहरुको तर्फबाट अपील गरेका थियौं । अब खेल्न पाउने भएका छौं ।’
यूएईको सट्टा मलेसियाले खेल्नेछ । मलेसिया क्रिकेट संघका अध्यक्ष महिन्दा भालिपुरमले आफ्नो देशले इमर्जिङ कप खेल्ने पक्का भएको बताएका छन् ।

मनाङ–मर्स्याङ्दी यसरी पुग्यो सेमिफाइनलमा

No comments

फागुन १३ । मनाङ–मर्स्याङ्दी क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एक खेलमा जित, एकमा बराबरी तथा एकमा हार व्यहोरेको मनाङ समूह ‘बी’को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
२–० ले अग्रता लिएको अवस्थामा पनि मनाङले बराबरीको सामना गर्नुपरेको हो । मनाङका लागि दुबै गोल अलावालेले गरे ।
त्यस्तै, मनाङसँग बराबरी गरेको अवाहनी समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ ।
मनाङले यसअघि बंगलादेशी मोहमोदेन स्पोर्टिङ क्लबलाई २–० ले हराएको थियो भने अफगानिस्तानको शाहिन अस्मायीसँग ३–१ को हार व्यहोरेको थियो ।
तर, शुक्रबारै भएको अन्तिम खेलमा मोहमोदेनले अस्मायीलाई २–० ले हराएपछि ‘हेड टु हेड’मा मनाङले सेमिफाइनलमा ठाउँ बनाएको हो ।
त्यस्तै, समूह ‘ए’बाट नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङको टोली माल्दिभ्सको टीसी स्पोर्टस् क्लब समूह विजेता र दक्षिण कोरियाको पोइचेन सीटीजन एफसी समूह उपविजेताकोरुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
सेमिफाइनल खेल सोमबारबाट सुरु हुनेछ । अब मनाङले फाइनल प्रवेशका लागि सोमबार किरण सम्मिलित टोलीसँग खेल्नेछ ।
यस्तै, दोस्रो सेमिफाइनलमा मंगलबार अवाहनीले पोइचेनसँग खेल्नेछ ।

पुलिस सेमिफाइनलमा

No comments

Feb 22, 2017

फागुन ११  । नेपाल पुलिस क्लब धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा सिलिगुडीको कन्चनजंघा फुटबल क्लबलाई ३–२ ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो ।
यो जितसँगै पुलिसले सेमीफाइनलमा आयोजक धरान ‘नीलो’सँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो सेमिफाइनलमा बुधबार रुपेन्देही–११ र संकटा क्लब खेल्नेछन् ।

राष्ट्रिय आमन्त्रण कराँते हुने

No comments

फागुन १० । सातदोबादो कराँते डोजो ललितपुरले आगामी वैशाख २१ देखि २३ गतेसम्म राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालमा हुने आसन्न १३औैं दक्षिण एसियाली खेलकुद (साग), इन्डोनेसियामा हुने १८औं एसियन गेम्स तथा सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकुदको तयारीका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक दीपक श्रेष्ठले दिएको जानकारीअनुसार प्रतियोगितामा १७ ओटा तौल समूह समावेश गरिनेछ ।
प्रतियोगितामा तीन विभागीय टोली र पाँच विकास क्षेत्रका खेलाडीले भाग लिनेछन् ।
पुरुषतर्फ अधिकतम् ८८ जना तथा महिलातर्फ ८० जना खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराइनेछ ।
१७ स्वर्ण, १७ रजत तथा १७ कास्यपदकका लागि हुने प्रतियोगिता सन्चालन गर्न अनुमानित २५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको दाबी छ ।

आर्सनल क्वाटरफाईनलमा

No comments

Feb 21, 2017

फागुन १० । सटन युनाईटेडलाई हराँउदै आर्सनल एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।सोमबार राती भएको खेलमा आर्सनलले सटनलाई २-० ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन लुकास पेरेज र थियो वाल्कोटले एक एक गोल गरे ।

जितसँगै आर्सनलले लिंकन सिटी विरुद्धको क्वाटरफाईनल भिडन्त तय गरेको छ । प्रिमियर क्लव बर्न्लेलाई पाखा लगाँउदै लिंकन सिटी क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

नेपाली क्रिकेटको विवाद मिलाउन आइसिसी सहमत

No comments

फागुन १० । अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) विधान संशोधन गरेर नेपाल क्रिकेट संघ (क्यान) मा देखिएको विवाद सल्टाउन सहमत भएको छ ।काठमाडौंमा गत शनिबार र आइतबार बसेको आइसिसीको प्रतिनिधिसँगको बैठकपछि आइसिसीले पहिलो पटक आफ्नो धारणा स्पष्ट पारेको हो ।

आइसिसीको दुबाईस्थित कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा भनिए अनुसार नेपाली क्रिकेटको विवाद मिलाउन गठन गरिएको सुझाव समूहले संशोधित विधान अनुसार क्यानको निर्वाचन गराउन सुझाव दिएको छ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरूद्ध मार्च ११ र १३ मा हुने खेलका क्रममा आइसिसीका पदाधिकारी काठमाडौं आउने र विधान संशोधनलगायत निर्वाचनको समय तय गर्ने आईसिसीले स्पष्ट पारेको छ ।
आइसिसीले सार्वजनिक गरेको विज्ञप्तिमा नेपालमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा आउँदो जुनमा आयोजना हुने आइसिसीको वार्षिक साधारण सभाले तय गर्ने स्पष्ट पारिएको छ ।
आइसिसीले राजनीतिक हस्तक्षेपलाई मूख्य आधार र स्वच्छ निर्वाचन हुन नसकेको भन्दै १० महिनाअघि गत अप्रिलमा नेपाललाई प्रतिबन्ध लगाएको थियो ।

सशस्त्र प्रहरीलाई हराउँदै संकटा सेमिफाइनलमा

No comments

फागुन १० । संकटा क्लब धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार क्वार्टरफाइनलमा सशस्त्र प्रहरीको टिमलाई १–० ले पराजित गर्दै संकटाले अन्तिम चारमा ठाउँ पक्का गरेको हो । संकटालाई जिताउन राज पौडेलले निर्णायक गोल गरे ।
संकटाले अब सेमिफाइलमा रुपन्देही–११ सँग बुधबार खेल्नेछ । रुपन्देहीले क्वार्टरफाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गरेको थियो ।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मंगलबार नेपाल पुलिस क्लब र भारतको सिक्किम युनाइटेड फुटबल क्लब भिड्नेछन् ।
पुलिसले प्रिक्वार्टरफाइनलमा धरान ‘पहेंलो’लाई हराएको थियो भने सिक्किमले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको हो ।

आज एपिएफ क्लव र संकटा क्लव भिड्दै : बुढासुब्बा गोल्डकप

No comments

Feb 20, 2017

फागुन९  । धरान फुटवल क्लव नीलो धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनल प्रबेश गरेको छ ।

धरान– १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आइतबार भएको खेलमा कास्की–११ पोखरालाई ३–० गोलले पराजित गर्दै धरानले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
धरानको जितमा खेलको १४ औं मिनेटमा रजिन सुब्बा, २८ मिनेट प्रकाश बुढाथोकी र ६९ मिनेटमा बुद्ध चेम्जोङले एक एक गोल गरे ।
धरान विरुद्ध सुरुवात देखि नै आक्रमक रुपमा प्रस्तुत भएको पोखराले भने गोल गर्ने चारवटा अवसर पाउँदा समेत गोल गर्न सकेन् ।
खेलको म्यान अफ दि म्याच धरानका रजिन सुब्बा घोषित भए । उनले नगद ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । आज को क्वाटरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लव र संकटा क्लवबीच हुने छ ।

म्यान्चेस्टर र टोटनह्याम क्वाटरफाईनलमा

No comments

फागुन ९ । शिर्ष क्लवहरु म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफ.ए कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार राती भएको खेलमा ब्ल्याकबर्न रोभर्सलाई २-१ ले हराउँदै म्यान्चेस्टर युनाईटेड क्वाटरफाइनलमा पुगेको हो ।
खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्ड र ज्लातन ईब्राहिमोभिचले १-१ गोल गरे ।
ब्ल्याकबर्नका ड्यानी ग्राहमले एक गोल गरेका थिए । जीतसँगै म्यान्चेस्टर युनाईटेडले अर्को दावेदार टोली चेल्सीसँग क्वाटरफाईनल भिडन्त तय गरेको छ ।
एफए कप अन्तर्गतको अर्को खेलमा टोटनह्याम हट्सपरले फुल्हमलाई ३-० ले हरायो ।
खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले ह्याट्रिक गरेका थिए । टोटनह्यामले अब क्वाटरफाइनलमा मिलवालसँग खेल्नेछ ।

कान्तिपुर–हिरो हाफ म्याराथनमा हरि रिमाल र कान्छीमाया कोजु प्रथम

No comments

Feb 18, 2017

फागुन ७ । सातौं कान्तिपुर–हिरो हाफ म्याराथनमा नेपाली सेनाका हरि रिमाल प्रथम भएका छन् भने तीर्थकुमार पुन दोस्रा भएका छन् ।

महिलातर्फ भने सशस्त्र प्रहरीकी कान्छीमाया कोजु प्रथम र विश्वरुपा बुढामगर दोस्रा भएकी छिन् ।
कान्तिपुरको स्थापना दिवसका अवसरमा आयोजना गरेको म्याराथनको प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेका थिए ।
२१ किलोमिटर दौडमा समाजका विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहेको थियो ।
महिला र पुरुष दुवै विजेताले ५० हजार रुपैयाँसहित स्कुटर पाएका छन् भने उपविजेताले ३०-३० हजार र तेस्रो हुनेले २०-२० हजार रुपैयाँसहित मोबाइल पनि पाएका छन् ।
चौथोले १०-१० हजार, पाँचौंले ५-५ हजार र छैटौं स्थानमा रहनेले ३-३ हजार पाउने व्यवस्था मिलाइएको छ ।
हाफ म्याराथनमा ९ सय ४७ धावक सहभागी भए भने महिलातर्फ १ सय १९ धाविका दौडिए । कान्तिपुर पब्लिकेसन्सको थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कबाट दौड सुरु भएको हो ।
तीन किमिको ह्विलचेयर दौडमा भने ३९ सहभागी भए । ५ किमि कर्पोरेट–मिडियामा करीब ५ सय सहभागि भए ।

पुलिस र पूर्वाञ्चल विजयी

No comments

Feb 16, 2017

फागुन ५ । नेपाल पुलिस क्लब र पूर्वाञ्चलले ताप्लेजुङमा जारी पाथीभरा पुरुष भलिबल प्रतियोगितामा जित दर्ता गरेका छन् ।


प्रतियोगिताअन्तर्गत् बुधबार फुङ्लिङस्थित नेपाली सेनाको खेल मैदानमा भएको पहिलो खेलमा पुलिस क्लबले सशस्त्र प्रहरीको टिमलाई २५–२४, २५–१७ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।
त्यस्तै, बुधबार नै भएको दोस्रो खेलमा पूर्वाञ्चलले मध्यमाञ्चललाई २५–१३, २७–२५, २२–२५, २०–२५ र १५–८ को सेटमा हरायो ।
विहीबार हुने पहिलो खेलमा पूर्वाञ्चल र त्रिभुवन आर्मी क्लब भिड्दा दोस्रो खेलमा मध्यमाञ्चल र सशस्त्र प्रहरीको टिम आमने–सामने हुनेछन् ।
‘राउन्ड रोबिन’को आधारमा खेलाइने प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्र प्रहरीका साथै दुई क्षेत्रीय टोली मध्यमाञ्चल र पूर्वाञ्चलको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले ३ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउने छ ।

बार्सिलोनाको लज्जास्पद हार

No comments

Feb 15, 2017

फागुन ४ । युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणका खेल सुरु भएका छन् ।

राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराती भएको पहिलो लेगको खेलमा बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ ।
फ्रान्समा भएको खेलमा बार्सालाई घरेलु टोली पेरिस सेन्ट जर्मेन पि.एस.जी.ले ४-० ले हराएको हो ।
खेलमा पि.एस.जी.लाई विजयी गराउन एन्जल डि मारीयाले दुई गोल गरे भने जुलियन ड्राक्सलर र एडिन्सन काभानीले एक–एक गोल गरे ।
यो हारसँगै वार्सिलोनाको क्वाटरफाईनल पुग्ने सम्भावना निकै कमजोर भएको छ ।
युएफा च्याम्पियन्स लिगअन्तर्गत राउण्ड अफ सिक्सटिन पहिलो लेगकै अर्को खेलमा पोर्चुगलको बेनीफीकाले जर्मनीको बोरुसीया डर्टमण्डलाई १-० ले हरायो ।
बेनिफीकालाई विजयी गराउन कोस्टान्टीनोसले निर्णायक गोल गरे ।
च्यम्पियन्स लिगमा आज राती दुई खेल हुनेछन् । आज जर्मन क्लब बायर्न म्युनिखले इङ्ल्यान्डको आर्सनलसँग खेल्दा स्पेनको रियाल मड्रिड र ईटालीको नापोली भिड्नेछन् ।

१९ औ बुढा शुब्बा गोल्ड कप भोलि बाट

No comments

फाल्गुन ४। १९ औ रेड्बुल  बुढा शुब्बा गोल्ड कप भोलि बाट सुरु हुदै छ  l  पुर्बी नेपालको सुन्दर नगरी धरान मा फाल्गुन ५ गते उद्घाटन गरि  संचालन हुन गहिरहेको गोल्ड कप विभिन्न चरण गरि फाल्गुन १४ गते फाइनल खेल सम्पन्न सगै  सम्पन्न हुनेछ।
योपटकको प्रतियागितामा संकटा क्लब, दुर्गापुर स्टिल फुटबल क्लब कोलकाता, काँकडभिट्टा ट्रेनिङ सेन्टर, रुपन्देही–११, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब नीलो, धरान फुटबल क्लब रातो, पोखरा फुटबल क्लब, युनाइटेड सिक्किम फुटबल क्लब र सशस्त्र प्रहरीको टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताअन्तर्गत् उद्घाटन खेल संकटा क्लब र दुर्गापुर स्टिल फुटबल क्लबीच हुनेछ ।
बढासुब्बा गोल्डकपको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

अन्तर्राष्ट्रिय क्लब फुटबल खेल्न बंगलादेश जाने खेलाडीको बिदाइ

No comments

फागुन ४ । बंगलादेशमा अन्तर्राष्ट्रिय क्लब फुटबल प्रतियोगिता खेल्न जाने मनाङ–मर्स्याङ्दी क्लबका खेलाडी तथा अफिसियलहरुको बिदाइ गरिएको छ ।

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै मनाङ–मर्स्याङ्दीले शेख कमल अन्तर्राष्ट्रिय क्लब कप खेल्न जाने आफ्ना खेलाडी तथा अफिसियलहरुलाइ बिदाइ गरेको हो ।

आगामी फागुन ७ गते देखि सुरु हुने प्रतियोगितामा विभिन्न राष्ट्रका ८ फुटबल क्लबहरुले प्रतिस्पर्धा गर्दैछन् ।
मनाङ–मर्स्याङ्दी रहेको समूह ‘बी’मा बंगलादेशका दुई तथा अफगानिस्तानका एक क्लब रहेका छन् ।
समूह ‘ए’मा बंगलादेशका दुई, माल्दिभ्स र दक्षिण कोरियाका एक–एक टोली रहेका छन् ।
बिदाइ कार्यक्रममा बोल्दै मनाङका कप्तान अनिल गुरुङले पछिल्लो समय टोली फर्ममा रहेको र शसक्त रहेको भन्दै सुखद् नतिजा निकाल्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भलिबलमा आर्मी र पुलिसको विजयी सुरुआत

No comments

फागुन ४ । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले पाथीभरा भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।


जिल्ला भलिबल संघ ताप्लेजुङको आयोजनामा मंगलबार देखि फुङ्लिङमा सुरु भएकोे प्रतियोगिताको उद्घाटन खेलमा आर्मी क्लबले २५–१०, २५–१७ र २५–१० को सोझो सेटमा मध्यमाञ्चल भलिबल टिमलाई पराजित गरेको हो ।
मंगलबारै भएको दोस्रो खेलमा पुलिस क्लबले पूर्वाञ्चल भलिबल टिमलाई २५–१८, २५–१३ र २५–१४ को सोझो सेटमा हरायो ।
‘राउन्ड रोबिन’को आधारमा खेलाइने प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्र प्रहरीका साथै दुई क्षेत्रीय टोली मध्यमाञ्चल र पूर्वाञ्चलको सहभागिता रहेको छ ।
प्रतियोगिताअन्तर्गत् बुधबार पुलिस र सशस्त्र प्रहरी तथा दोस्रो खेलमा पूर्वाञ्चल र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टिमले ३ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउने छ ।

बर्नलेसँग चेल्सी बराबरी

No comments

Feb 13, 2017

फागुन २ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीलाई बबर्नले १-१ गोलको बराबरीमा रोकेको छ ।


बर्नलेको मैदानमा भएको खेलमा चेल्सीका पेड्रोले पहिलो गोल गरे । तर घरेलु टोलीका ब्राडीले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।
राती नै भएको अर्को खेलमा स्वान्सी सिटीले लेस्टर सिटीलाई २-० ले हराएको छ । खेलमा स्वान्सीलाई विजयी गराउन अल्फी मसन र मार्टिन ओल्सनले एक/एक गोल गरेका हुन् ।
रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २५ खेलबाट ६० अंक जोडेको चेल्सी शीर्ष स्थानमा यथावत छ ।
समान खेलबाट ५०/५० अंक जोडेको टोटनह्याम हट्सपर र आर्सनल क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् भने ४९ अंक जोडेको लिरभपुल चौथो स्थानमा छ ।
एक खेल कम खेलेको म्यानचेस्टर सिटी पनि ४९ अंकको साथ पाँचौ स्थानमा रहेको छ । सिटीले आज राती हुने खेलमा बर्नमाउथसँग खेल्नेछ ।

‘ए’ डिभिजनमा फुटबल क्लवलाई लाइसेन्स लागु गर्ने

No comments

फागुन २ । अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजनका क्लबमा यही वर्षदेखि ए.एफ.सी क्लब लाइसेन्स लागु गर्ने भएको छ । यसैको तयारी र छलफलका लागि एसियाली फुटबल महासंघ ए.एफ.सी का प्रतिनिधि नेपाल आएका छन् ।

एएफसीका क्लब लाइसेन्सिङका प्रमुख महाजन वासुदेभन नायरसँग आइतबार भएको छलफलका क्रममा एन्फाले यसै वर्षदेखि क्लव लाईसेन्स लागु गर्ने जानकारी गराएको हो ।
छलफलका क्रममा ए डिभिजन क्लबका प्रतिनिधि पनि सहभागी थिए । एएफसीले फुटबल क्लब तथा फुटबल संघलाई यसको कार्यान्वयन चरणमा सहयोग गर्ने जनाएको छ ।
एएफसीले क्लब लाइसेन्सको मापदण्ड नपुग्ने क्लबलाई आगामी वर्षदेखि क्लब स्तरको कुनै पनि प्रतियोगितामा सहभागी हुन नदिने निर्णय गरिसकेको छ ।
क्लब लाइसेन्स पाउन नेपालका ए डिभिजन क्लबले खेलकुद, पूर्वाधार, प्रशासन, कानुनी, आर्थिकलगायत क्षेत्रमा एएफसीले तोकेको न्यूनतम मापदण्ड पूरा गर्नुपर्नेछ ।

भिडाल ५ महिना मैदान बाहिर रहने

No comments

Feb 12, 2017

फागुन १। बार्सिलोनाका डिफेण्डर एलेक्स भिडालले सिजनका बाँकी खेलहरु गुमाउने भएका छन् । बासिर्सलोनाले ला लिगामा आलाभेसलाई ६-० ले हराएको खेलका क्रममा उनी घाइते भएका थिए । २७ वर्षीय भिडाल ८५ औं मिनेटमा थिओ हर्नान्डेजसँग ठोक्किएर घाइते भएका थिए । उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लैजानु परेको थियो ।
बार्सिलोनाले भिडान पाँच महिना मैदान बाहिर रहने जानकारी दिएको छ । उनी २०१५ मा सेभिल्लाबाट बार्सिलोना आएका थिए र पछिल्लो समय टिममा पर्दै आएका थिए ।

फेरि रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

No comments
फागुन १ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले ओसासुनालाई हराएको छ र, फेरि लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा रियल मड्रिडले ओसासुनालाई ३-१ गोल अन्तरले हराएको हो । यसअघि बार्सिलोनाले आलाभेसलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको थियो ।
ओसासुनाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले २४ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । तर, ३३ औं मिनेटमा घरेलु टोलीका लिमोनेसले बराबरी गोल फर्काए र पहिलो हाफ १-१ मा सकियो ।
दोस्रो हाफमा रियलले दुई गोल थप्यो । ६२ औं मिनेटमा इस्कोले गोल गरे भने खेलको अन्तिम मिनेटमा लुकास भाजक्वेजले गोल गर्दै रियल मडि्रडलाई ३-१ को जित दिलाए ।
जितपछि २० खेलबाट ४९ अंक जोडेको रियल मडि्रड लिगको शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको २२ खेलबाट ४८ अंक भएको छ ।

आर्मी र ससस्त्रको जित

No comments

फागुन १ । दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको टिमले सृजना आमन्त्रण अन्तर्राष्ट्रिय महिला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् ।

शनिबार पोखरा रंगशालाको भलिबल कोर्टमा भएको फाइनल खेलमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराएर पुरुषतर्फ र सशस्त्र प्रहरीले पनि ३–१ कै सेटमा न्यू डायमन्ड एकेडेमीलाई पराजित गर्दै महिलातर्फको उपाधि हात पारेका हुन् ।
उपाधि पारेसँगै दुबैतर्फका विजेताले १ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ आर्मीका धनबहादुर भट्ट र महिलातर्फ सशस्त्रकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी चुनिएका छन् ।

भूमिराज राईले जिते प्रधानसेनापति खुला म्याराथनः ४२ किलोमिटरतर्फ

No comments

फागुन १  । प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताअन्तर्गत् ४२ किलोमिटरको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् ।

शनिबार काठमाडौंमा भएको प्रतियोगितामा राईले निर्धारित् ४२ किलोमिटरको दुरी २ घन्टा २४ मिनेट १३ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।
त्यसैगरी, नेपाली सेनाका कृष्ण बस्नेतले २ घन्टा २४ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए भने सेनाकै राजन खत्रीले २ घन्टा २५ मिनेट ५० सेकेन्ड समय लगाएर तेस्रो भए ।
२१ किलोमिटर पुरुषतर्फ कल्याण बानियाँ पहिलो, रामजी बस्नेत दोस्रो र राजकुमार विष्ट तेस्रो भए । उनीहरु सबै सेनाकै खेलाडी हुन् ।
२१ किलोमिटर महिलातर्फ सेनाकी विश्वरुपा बुढा र सानुमाया कार्की क्रमशः पहिलो र दोस्रो भए भने सशस्त्र प्रहरीकी पुष्पा भण्डारी तेस्रो भइन् ।
१० किलोमिटर पुरुषतर्फ रोहन श्रेष्ठ पहिलो, सुवास लामा दोस्रो र सुमन पाण्डे तेस्रो भए भने महिलातर्फ १० किलोमिटरमा श्रृष्टि कुँवर, रेखा अधिकारी र लक्ष्मी लामा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
५ किलोमिटर छात्रतर्फ सुरेश थापामगर पहिलो, सागर श्रेष्ठ दोस्रो र कृष्ण आलेमगर तेस्रो भए ।
छात्रातर्फ संगीता खड्का, काजल विष्ट र सुनीता दर्लामीमगर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
विदेशी नागरिकतर्फ २१ किलोमिटरमा अमेरिकाका मार्क कोनइन प्रथम भए भने १० किलोमिटरमा जापानका माइक रिडले उपाधि जितेका छन् ।

संकटाले जित्यो सिमरा गोल्डकप

No comments

फागुन १  । त्रिभुवन आर्मी क्लबलाई ‘टाइब्रेकर’मा स्तब्ध पार्दै सीएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधि जितेको छ ।

सिमरा रंगशालामा शनिबार भएको खेलमा आर्मीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै संकटाले सिमरा गोल्डकपको उपाधि उचालेको हो ।
उपाधिसँगै संकटाले ५ लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले २ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
रोमान्चक फाइनल खेलको निर्धारित् समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि नतिजा टाइब्रेकरबाट निकालिएको हो ।
टाइब्रेकरमा संकटाका लागि राज पौडेल, अनिल गुरुङ, अमित तामाङ र कुलदीप कार्कीले गोल गरेका थिए । संकटाका विश्व अधिकारीको प्रहार भने आर्मीका गोलरक्षक सुनील श्रीवास्तवले रोकेका थिए ।
आर्मीका लागि सन्तोष तामाङ र हिरण्य मगरलेमात्र बललाई जाली चुमाउन सके । आर्मीका जितेन्द्र कार्की र दीपक गुरुङको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाऊ गरे ।
यसअघि, खेलको ४७औं मिनेटमा आर्मीका बालकृष्ण श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलमा दुबै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले । पहिलो हाफमा १–० ले पछि परेको संकटाले खेलको ५६औं मिनेटमा बराबरी गोल फर्कायो ।
आर्मीका बालकृष्ण श्रेष्ठले मार्टिन अजाइलाई लडाएपछि पाएको फ्रिकिक बललाई सदुपयोग गर्दै संकटाका अमित तामाङले उत्कृष्ट गोल गरे ।
निर्धारित् समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि खेलमा २० मिनेट अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका संकटाका गोलरक्षक विनय श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षकसमेत घोषित भएका उनले यामाहा मोटरसाइकल प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट फरवार्ड संकटाका अनिल गुरुङ, उत्कृष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ, उत्कृष्ट डिफेन्स आर्मीका बिमल पाण्डे, उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गी र सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका बालकृष्ण श्रेष्ठले हात पारे ।
विधागतरुपमा पुरस्कार पाएका सबैले जनही १५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । प्रतियोगिताको ‘फेयर प्ले’को पुरस्कार सशस्त्र प्रहरीले पायो ।
प्रतियोगिताको विजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल, आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष कासिम मियालगायतले पुरस्कार वितरण गरेका थिए ।

६० लाखको लागतमा खेलमैदान बसन्तपुरमा

No comments

Feb 11, 2017

माघ २९ । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुरमा जिल्लाकै नमुना खेलमैदान निर्माण हुने भएको छ ।

चालु आर्थिक वर्षमा बसन्तपुर नयाँ शहरी विकास आयोजनाको ६० लाख रुपैयाँ लागतमा खेलमैदान निर्माणको काम भइरहेको छ ।
यो वर्ष कटिङ, ग्याभिङ र जाली लगाउने काम भइरहेको छ । १२० लम्बाई र ९० मिटरको चौडाई भएको खेल मैदान निर्माणको काम आगामी वैशाखसम्ममा पुरा हुने निर्माण कम्पनीले जनाएको छ ।
प्याराफिड, शौचालय, ड्रेसिङ तथा चेन्जिङ रुम, स्टेजलगायत पूर्वाधारसहितको सुविधासम्पन्न मैदान निर्माण गरिने नयाँ शहरी विकास आयोजनाको कार्यालय बसन्तपुरका प्रमुख द्रोणमान कटुवालले बताए ।
आगामी ५ वर्षसम्म मैदान आधुनिकीकरणमा ६ करोड रुपैयाँ खर्च गरिने कार्यालायले जनाएको छ ।

चार लाख पुरस्कारको महिला क्रिकेट वैशाखमा

No comments

माघ २९ । कैलालीको अत्तरियामा आगामी वैशाख १४ गतेदेखि देशकै सर्वाधिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।


अत्तरिया युनाइटेड स्पोर्टर्स क्लबको आयोजनामा महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।
क्लबले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी प्रतियोगितामा झन्डै रु चार लाखभन्दा बढी नगद पुरस्कार प्रदान गरिने जनाएको छ ।
पुरुष क्रिकेटले आशातीत सफलता हासिल गर्दै गएको अवस्थामा महिला क्रिकेटको स्तर समेत बढाउनका लागि देशमै सर्वाधिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रवि खनालले बताए
प्रतियोगिताका विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार पाउने छन् ।
यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु २५ हजार तथा उत्कृष्ट ब्याट्स ओमन, उत्कृष्ट बलर र उत्कृष्ट किपरलाई जनही रु १०–१० हजार र प्रत्येक खेलका ‘ओमन अफ द म्याच’लाई रु तीन हजार पुरस्कार दिइनेछ । रासस

फिलिप ल्हामले संन्यास लिने

No comments

Feb 8, 2017

माघ २६ । जर्मन फुटबल खेलाडी फिलिप ल्हामले यही सिजनको अन्त्यबाट संन्यास लिने घोषणा गरेका छन् ।

सन् २०१४ मा जर्मनीलाई विश्वकप फुटबलको उपाधि जिताएका कप्तान ल्हामले व्यावसायीक फुटबल जिवनबाट बुट थन्क्याउने घोषणा गरेका हुन् ।
जर्मन फुटबल क्लब बायर्न म्युनिखबाट खेल्दै आएका ल्हामको करार अवधि अर्को वर्षसम्म थियो । तर, आफ्नो करार अवधिको एक वर्ष बाँकी छँदै ल्हामले क्लब र राष्ट्रको जर्सीबाट विदा हुने तयारी गरेका हुन् ।
ल्हामले बायर्न म्युनिखबाट ५ सय १ खेल खेलेका छन् । जर्मन राष्ट्रिय फुटबल टोलीबाट १ सय १३ खेले खेलेका ल्हामले एक पटक विश्वकप फुटबल, ७ पटक जर्मन बुन्डेस लिगा, ६ पटक जर्मन कप फुटबल र एक पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेका छन् ।
ल्हानलमे जर्मन क्लब बायर्न म्युनिखको सिनियर टोलीमा सन् २००२ मा डेब्यु गरेका थिए ।

धनगढी प्रिमियर लिगको तयारी तिव्र

No comments

माघ २६ । अहिलेसम्मकै ठूलो धनराशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको तयारी तिव्र पारिएको छ ।

धनगढी क्रिकेट लिग र एसपीए कप क्रिकेट प्रतियोगितालाई गाभेर नयाँ स्वरुपमा सञ्चालन गर्न लागिएको धनगढी प्रिमियर लिगका लागि मैदान निर्माणको काम दु्रत गतिमा भइरहेको हो ।
लिगको मुख्य प्रायोजक सगरमाथा सिमेन्ट र सह–प्रायोजक जगदम्बा इन्टरप्राईजेजका साथै अन्य प्रायोजकहरुसँग सम्झौता भएपछि प्रतियोगितालाई सफल बनाउन आयोजक खेलको तयारीमा जुटेको हो ।
ट्वेन्टी–ट्वेन्टी स्वरुपमा खेलाइने प्रतियोगितामा ६ टोलीले अक्सनका आधारमा खेलाडी प्रशिक्षण गराइरहेका छन् ।
मैदानको काम बाहेक ७० प्रतिशत तयारी सकिएको धनगढी प्रिमियम लिगका संयोजक सुवास शाहीले जानकारी दिए ।
धनगढी प्रिमियर लिग प्रतियोगिता विजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

हिमालयन शेर्पा सेमिफाइनलमा

No comments

Feb 7, 2017

माघ २५  । हिमालयन शेर्पा क्लब बारामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको क्वार्टरफाइनलमा रुपन्देही–११ लाई १–० ले पराजित गर्दै हिमालयनले अन्तिम चारमा ठाउँ बनाएको हो ।
हिमालयनलाई जिताउन खेलको ५२औं मिनेटमा निशान लिम्बूले निर्णायक गोल गरे ।

सशस्त्र सेमिफाइनलमा

No comments

माघ २५  । पोखरामा जारी सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

आफ्नो दोस्रो खेलमा सोमबार पश्चिमाञ्चललाई २५–१७, २५–१० र २५–१९ को सोझो ३–० को सेटमा पराजित गर्दै सशस्त्र कुल ६ अंकका साथ समूह ‘ए’बाट सेमिफाइनलमा पुगेको हो ।
सृजना विकास केन्द्रको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुषतर्फको समूह ‘बी’मा रहेको सशस्त्रले जित हासिल गरेको छ ।
त्रिभुवन आर्मीसँग पराजित भएको सशस्त्रले सोमबार लिग च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंलाई ३–१ ले पराजित गर्दै ३ अंक बटुल्न सफल भयो ।

मनाङ–मर्स्याङ्दीले जित्यो झापा गोल्डकप

No comments

माघ २५  । दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ–मर्स्याङ्दी क्लबले जितेको छ ।

सोमबार भएको फाइनलमा आयोजक झापा–११ लाई १–० ले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।
डोमलाल राजवंशी रंगशालामा भएको खेलको ६३औं मिनेटमा नाइजेरियन खेलाडी ओलावालेले गोल गर्दै मनाङलाई जिताएका हुन् ।
निराजन मल्लले प्रहार गरेको बल झापाका गोलरक्षकबाट फुत्किएपछि ओलावालेले जाली चुमाएका हुन् । त्यही गोल नै मनाङको जितमा निर्णायक बन्यो ।
‘ए’ डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएको प्रतियोगितामा उपाधि जितेसँगै मनाङले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता झापाले साढे तीन लाख रुपैयाँ पाएको छ ।
खेलको ‘म्यान अफ द म्याच’ मनाङका निराजन मल्ल घोषित भए ।
‘प्लेयर अफ द टुर्नामेन्ट’ मनाङकै रोहित चन्द घोषित भए । उनले सयपत्री ट्रेड लिङ्क बिर्तामोडका तर्फबाट यामाहाको मोटरसाइकल प्राप्त गरे ।
झापा–११ अघिल्लोपटकको झापा गोल्डकपमा पनि उपविजेता बनेको थियो । 
सेमिफाइनलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई तथा झापा–११ ले हिमालयन शेर्पालाई हराउँदै फाइनलमा पुगेका थिए ।

एपिएफ र पुलिसको विजयी सुरुवात

No comments

Feb 6, 2017

माघ २४  । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लबले सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७३ मा महिलातर्फ विजयी सुरुवात गरेका छन् ।

प्रतियोगिताको दोश्रो दिन भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले नेपाल आर्मीलाई २५–९, २५–१७ र २५–१८ को सोझो सेटमा पराजित गर्दै जितलाई आत्मसाथ ग¥यो । यसका साथै एपिएफको खातामा तीन अंक जोडिएको छ ।
लिगको आधारमा खेलाईएको प्रतियोगिताको दोश्रो खेलमा नेपाल पुलिस क्लबले भारतको उत्तर प्रदेश भलिबल संघलाई २५–७, २५–२० र २५–१६ अंकका साथ सहजै ३–० को सोझो सेटमा पराजित गर्न सफल भएको छ । नेपाल पुलिसले पनि आफ्नो खातामा तीन अंक जोड्न सफल भयो ।
यसअघि पूर्वमन्त्री किरण गुरुङ्गले रेफ्रि विकास गुरुङ्गलाई बल हस्तान्तरण गर्दै खेलको सुरुवात गरेका थिए ।
करिब ३५ लाख लागतको प्रतियोगितामा नेपालका पाँच र भारतको एक गरि महिलातर्फ ६ टिमको सहभागिता छ ।
सोमबार पहिलो खेल महिला तर्फ पश्चिमाञ्चल र एपिएफबीच ९ः३० बजे तथा नेपाल पुलिस र न्यू डायमन्ड एकेडेमीबीच १ः३० बजे हुनेछ भने पुरुष तर्फको खेल हेल्प नेपाल स्पोर्टस् क्लब र एपिएफबीच ११ः३० बजे तथा नेपाल पुलिस र पश्चिमाञ्चलबीच ३ः३० बजे हुने प्रतियोगिता संयोजक डि.बी. नेपालीले जनाएकका छन् ।

बास्केटबल प्रतियोगितामा निम्सलाई दोहोरो उपाधि

No comments

माघ २४  । आयोजक निम्सले छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । निम्स सिनियर ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन बन्यो ।


टोखास्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा निम्सले द स्काइलार्क स्कुललाई ५५–५१ ले पराजित गर्‍यो । निम्सको जितमा नम सुनारले १५ अंक योगदान गरे ।
तेश्रो क्वाटरको समाप्तिसम्म निम्स ३१–३४ ले पछि थियो । चौथो तथा अन्तिम क्वाटरमा १४–७ को अग्रता बनाउदै निम्सले उपाधि सुनिश्चित गरेको थियो । पहिलो क्वाटरमा १४–१७ ले पछि परेको निम्स दोश्रोमा १८–९ ले अगाडि रह्यो । तेश्रो क्वाटरमा पनि निम्स ९–१८ ले पछि परेको पर्‍यो ।
गर्ल्सको उपाधि भिडन्तमा निम्सले द चाँदबाग स्कुललाई ३२–२४ ले हरायो । निम्सकी मुना बस्नेतले १२ अंक जोडिन् ।
पहिलो क्वाटरमा दुवै टिमले १०–१० को बराबरी खेले । दोश्रोमा निम्सले ९–२ को अग्रता हासिल गर्‍यो भने तेश्रोमा ६–१० ले पछि प¥यो । चौथो क्वाटरमा निम्स ७–२ ले अगाडि रहँदै उपाधि हात पार्न सफल भयो ।
ब्वाइजमा सञ्जय नेपाली तथा गर्ल्समा मुना बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै उपाधि विजेता निम्सका हुन् ।
विजेतालाई निम्सकी प्रमुख कार्यकारी अधिकृत निकोल ठकुरी, बास्केटबल प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मी र निम्सका प्रिन्सिपल ज्ञानेन्द्र कार्कीले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको ब्वाइज र गर्ल्समा समान १२–१२ टिम गरी जम्मा २४ टिम सहभागी थिए ।

विश्वकप क्रिकेटमा आज नेपाल र श्रीलंका भिड्ने

No comments

Feb 5, 2017

माघ २३ । भारतमा जारी दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज नेपालले श्रीलंकासंग खेल्नेछ ।

प्रतियोगितामा यो नेपालको छैटौं खेल हुनेछ । यसअघिका पाँच खेलमध्ये नेपाल एक खेलमा विजयी भएको छ भने चार खेल गुमाएको छ ।
नेपालले दक्षिण अफ्रिकालाई हराउँदा अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश र वेष्ट इंडीजसँग पराजय भोगेको थियो ।
हिजोको खेलमा नेपाल वेष्ट इन्डिजसंग ४३ रनले पराजित भएको हो । खेलमा पहिले ब्याटिङ्ग गरेको वेष्ट इन्डिजले ७ विकेटको क्षतिमा दुई सय ८ रन बनायो ।

जवाफमा नेपालले ३ विकेटको क्षतिमा एक सय ६५ रनमात्र बनाउन सक्यो । १० टोली सहभागी प्रतियोगिताको लिग चरणमा शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्नेछ ।

अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी पूरा

No comments

Feb 4, 2017

 माघ २२  । शनिबार (भोलि)देखि पोखरामा सुरु हुने सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।


कास्की जिल्ला तथा पश्चिमाञ्चल भलिबल संघको आयोजना, कास्की तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा हुने प्रतियोगिताको आवश्यक तयारी पूरा भएको जानकारी आयोजकले शुक्रबार दिएको हो ।
शनिबार हुने उद्घाटन खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको क्लबबीच हुनेछ ।
प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र भारतको उत्तर प्रदेश भलिबल संघबाट महिला र पुरुष टिमको सहभागिता रहने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।
त्यसैगरी, न्यू डायमन्ड एकेडेमीबाट महिला टोली र हेल्प नेपाल स्पोर्ट्स क्लबबाट पुरुष टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा विजेता महिला तथा पुरुष दुबै टोलीले एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुस्कार पाउने आयोजकले जानकारी दिएको छ ।

कन्चनपुरमा एक्सपर्ट क्रिकेट लिग सुरु

No comments

Feb 3, 2017

माघ २१  । कन्चनपुरमा विद्यालयस्तरीय एक्सपर्ट क्रिकेट लिग सुरु भएको छ ।

विहीबारदेखि महेन्द्रनगरस्थित खुलामन्चमा एक्सपर्ट क्रिकेट लिग सुरु भएको हो ।
हिमालयन क्रिकेट एकेडेमीको आयोजना र एक्सपर्ट एजुकेसनको सहयोगमा आयोजना भएको प्रतियोगिता फागुन ८ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा विभिन्न विद्यालयका १६ टिम सहभागी छन् ।
एक्सपर्ट क्रिकेट लिग कैलाली, चितवन, पोखरा, काठमाडौ, झापालगायत देशका ८ जिल्लामा सन्चालन गरिने हिमालयन क्रिकेट एकेडेमीका अध्यक्ष शक्तिसिंह भण्डारीले जानकारी दिए ।

क्यामरुन इजिप्टसँग उपाधिका लागि भिड्ने

No comments

माघ २१ । घानालाई हराउँदै क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलमा क्यामरुनले घानालाई २–० ले हराएको हो । खेलमा क्यामरुनलाई विजयी गराउन मिचेल गाद्जुई र क्रिश्चियन बासोगगले एक–एक गोल गरे ।
जितसँगै क्यामरुनले इजिप्टसँगको फाइनल भिडन्त तय गरेको छ ।
अफ्रिकी महादेशको सबैभन्दा सफल टोली ईजिप्टले पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई टाईब्रेकरमा हराउँदै फाइनलमा ठाउँ पक्का गरेको थियो ।
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat