Responsive Ad Slot

पेनाल्टी गोलले लिभरपुल विजयी

No comments

Nov 30, 2015

मंगसिर १४।  इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिभरपुल विजयी भएको छ ।
आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले स्वान्सी सिटीलाई १-० ले हराएको हो । खेलमा लिभरपुललाई विजयी गराउन जेम्स मिल्नरले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।
प्रिमियर लिग अन्तर्गतकाअन्य खेलहरुमा आर्सनल र नर्वीच सिटी तथा चेल्सी र टोटनह्याम हट्सपरले बराबरीमा चित्त बुझाएका छन् ।
नर्वीच सिटीको मैदानमा भएको खेलमा आर्सनलले १-१ गोलको बराबरी खेलेको हो । यसैगरी पछिल्लो समय खराब लयबाट गुज्रिरहेको चेल्सीले टोटनह्याम हट्सपरसँग उसैको मैदानमा गोलरहित बराबरी खेले ।
आइतबार राति भएको अर्को खेलमा वेष्ट ह्याम युनाइटेड र वेष्ट ब्रोमले १-१ गोलको बराबरी खेलेका छन् । आइतबार रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १४ खेलबाट २९ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहेको छ ।
समान खेलबाट २९ अंक जोडेको लेष्टर सिटी गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ भने तेस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको २८ अंक छ । २७ अंक जोडेको आर्सनल भने चौथो स्थानमै समेटिएको छ ।

बेलायतले लग्यो डेभिस कप टेनिसको उपाधि

No comments
मंगसिर १४।  यस वर्षको डेभिस कप टेनिसको उपाधि बेलायतले जितेको छ । बेल्जियमको घेन्टमा आइतबार राति भएको खेलमा ब्रिटिस खेलाडी एण्डी मरेले बेल्जियमका डेभिस गोफीनलाई हराँउदै उपाधि जिताएका हुन् ।
५ खेलको श्रृंखलामा २-१ को अग्रता लिएको अवस्थामा चौथो खेल जित्दै बेलायतका मरेले टोलीलाई ३-१ को अग्रता दिएपछि उपाधि पक्काभएको हो ।
गोफीन विरुद्धको खेल मरेले ६-३, ७-५ र ६-३ आफ्नो पक्षमा पारे । बेलायतले प्रतिष्ठित डेभिस कप टेनिसको उपाधि जितेको सन् १९३६ पछि यो पहिलो अवसर हो । यो सँगै बेलायतले १० पटक डेभिस कप टेनिसको उपाधि जितेको छ ।

हिमालयन ह्वाईट वाटर च्यालेन्जमा १५ खेलाडी छनौट

No comments
मंगसिर १४।  नेपालमा र्‍याफ्टिङ्गका लागी खुल्ला गरिएका नदीहरुको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ त्रिशुली नदीमा १४ औं हिमालयन ह्वाईट वाटर च्यालेन्ज प्रतियोगिता आयोजना गरिएको छ ।
च्यालेन्ज प्रतियोगिता अन्तर्गत फ्रि स्टाइलमा १५ जना खेलाडीहरु छनौट भएका छन् । अमेरिका, अष्ट्रेलिया, बेलायत, श्रीलंकालगायत १६ विदेशी राष्ट्रहरुसहित ८२ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा रिभर गाइड लगायत अन्य साहसिक जल यात्राका खेलाडीहरुलाई तीन  विधामा प्रतिस्पर्धा गराइएको छ ।
भूकम्पपछि नेपालमा जल यात्रा सुरक्षित रहेको छ भन्ने सन्देस दिनका लागी समेत यस प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

क्रिकेट स्कुल पाठशाला

No comments

Nov 29, 2015

मंगसिर १३।  नेपाल स्पोर्टस म्यानेजमेन्टले भेलोसिटी एरिनामा नेपाल क्रिकेट स्कुल सञ्चालनमा ल्याएको छ । काठमाडौंको रातोपुलमा रहेको क्रिकेट स्कुल इन्डोर क्रिकेटको आधारमा सञ्चालनमा आएको हो । एरिनामा फुटसल मैदान पनि रहेको छ ।
राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, कप्तान पारस खड्का र नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएम सेनाबिर्तानाले शनिबार क्रिकेट स्कुलको संयुक्त उद्घाटन गरे । नेपालको प्रशिक्षकका रूपमा आफ्नो कार्यकाल सकेर दासानायकेशनिबार नै गृह नगर क्यानाडा फर्किएका छन् । ४ रोपनी ८ आनामा फैलिएको क्रिकेट स्कुलको इन्डोरमा ५ ओटा विकेट रहेको छ ।
अन्तर्राष्ट्रिय स्तरको आर्टिफिसियल टर्फ रहेको दाबी गरेको नेपाल स्र्पोट्स म्यानेजमेन्टले सेन्टर विकेटमा यूएईको दुबईमा रहेको आईसीसी ग्लोबल एकेडेमी बाला ब्याटिङ टर्फ रहेको जनाएको छ । दासानायकेले नेपाली क्रिकेटको स्तर विकास गर्न क्रिकेट स्कुलले ठुलो भुमिका खेल्न सक्ने जनाए । पारसले यो नेपालको सबैभन्दा ठुलो एकेडेमी भएकाले राष्ट्रिय टोलीका खेलाडीले आफ्नो हिसाबमा यहाँ आएर प्रशिक्षण गर्ने जनाए ।
नेपाल स्पोर्टस् म्यानेजमेन्टले प्रशिक्षक दासानायकेलाई सम्मान गर्दै बिदाइ गरेको थियो । श्रीलंकाका राजदूत डब्लुएम सेनाबिर्तानाले नेपालको क्रिकेट स्थापनाका क्रममा पूर्वप्रशिक्षक रोय डायसले गरेको योगदान र अहिले दासानायकेले नेपाललाई विश्वकपमा पु¥याउन गरेको योगदानको प्रशंसा गर्दै नेपाली क्रिकेटको विकासमा सहयोग गर्न श्रीलंकाबाट सहयोगी भूमिका बनाउन प्रयास गर्ने जनाए ।
काठमाडौं क्षेत्रका पूर्व विकेटकिपर करण घिमिरे लगायतको स्वामित्वमा रहेको क्रिकेट स्कुलको प्रमुख निर्देशकमा राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास र प्रमुख प्रशिक्षकमा पूर्वराष्ट्रिय खेलाडी कलाम अली छन् । राति खेल्न मिल्ने, बलिङ मेसिन, बलिङ गति नाप्न सक्ने स्पिड गन नेपाल क्रिकेट स्कुलमा रहेको अर्का सञ्चालक अकुर रिमालले जनाए ।

२ सयजनासम्म विधार्थी राखेर क्रिकेट प्रशिक्षण सञ्चालन गर्ने क्रिकेट स्कुलले भविष्यमा यू–१४ र यू–१६ इन्डोर प्रतियोगिता पनि सञ्चालन गर्ने जनाएको छ । एरिनामा ब्याडमिन्टन र टेबुल टेनिस पनि थपिने अर्का सञ्चालक सन्देश कटुवालले बताए ।

ब्याडमिन्टन टोली ढाका प्रस्थान

No comments
मंगसिर १३।  बंगलादेश अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज– २०१५ मा सहभागी हुन ९ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
डिसेम्बर १ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले पुरुष÷महिलाको सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जनाएका छन् । महासचिव श्रेष्ठका अनुसार प्रतियोगितामा विभिन्न २४ राष्ट्रको सहभागिता रहनेछ ।
पुरुषमा रत्नजित तामाङ, विकास श्रेष्ठ, दीपेश धामी, साजनकृष्ण ताम्राकार र विष्णु कटुवाल रहेका छन् । महिलामा सरादेवी तामाङ, नंशलदेवी तामाङ, शिक्षा श्रेष्ठ र अमिता गिरी छन् ।
टोली नेतामा ब्याडमिन्टन संघका सचिव एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य वीरेन्द्र श्रेष्ठ, प्रशिक्षकमा जयन्त श्रेष्ठ तथा व्यवस्थापकमा लवभक्त श्रेष्ठ रहेका छन् ।गत वर्ष भएको प्रतियोगिताको विभिन्न ३ स्पर्धामा क्वार्टरफाइनल पुग्नु नेपाली खेलाडीले यो प्रतियोगितामा हासिल गरेको अहिलेसम्मकै ठूलो उपलब्धि हो । पुरुष सिंगल्समा रत्नजित, पुरुष डबल्समा रत्न र विकासको जोडी तथा मिक्स डबल्समा रत्न र सराको जोडी क्वार्टरफाइनलमा पुगेको थियो । टोलीलाई राखेप सदस्य–सचिव केशवकुमार विष्ट र ब्याडमिन्टन संघका अध्यक्ष रमेशकुमार श्रेष्ठले एक कार्यक्रमबिच बिदाइ गरे ।

नेपाली र भारतीयबीच कुस्ती

No comments
मंगसिर १३।  बर्दियाको सदरमुकाम गुलरियामा शनिबारदेखि नेपाल र भारतका खेलाडीहरु सहभागी कुस्ती प्रतियोगिता सुरु भएको छ ।

खेलमा भारतको दिल्ली, हिमाञ्चल प्रदेश, हरियाणा, राजस्थान, कश्मिरलगायतका स्थानबाट ३० जना खेलाडी सहभागी छन् । प्रतियोगिताअन्तर्गत् शनिबार पहिलो दिन भएका छुट्टा–छुट्टै तौल समूहका खेलमा नवलपरासीका बसन्तथापा र भारतीय खेलाडीहरु बादल पहलमान, ज्वाला सिंह पहलमान र नदीम अहमद विजयी भएका छन् ।प्रतियोगिता पाँच दिनसम्म सन्चालन हुनेछ । 

पीएसजीलाई १६ अंकको अग्रता

No comments
मंगसिर १३।  पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सको लिग १ फुटबलमा १६ अंकको अग्रता लिएको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले अंक तालिकाको पुछारमा रहेको ट्रोयसलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।
पीएसजीको पार्क डे पि्रन्सेसमा खेल सुरु हुनुअघि मैदानमा फ्रान्सको झण्डा प्रदर्शन गरिएको छ । साथै पेरिस आक्रमणमा ज्यान गुमाएकाहरुको सम्झौतामा मौनधारण समेत गरिएको थियो ।
खेलको २० औं मिनेटमा घरेलु टोलीका लागि काभानीले गोल गरे । पीएसजीले बाँकी तीन गोल भने दोस्रो हाफमा गरेको थियो ।
५८ औं मिनेटमा जाल्टन इब्राहिमोभिचले पेनाल्टीमा गोल गरे भने ६७ औं मिनेटमा कुर्जावा र ८४ औै मिनेटमा अगस्टिनले गोल गर्दै पीएसजीलाई ४-० को अग्रता दिलाए । ट्रोयसका लागि खेलको अन्तिम मिनेटमा आयासारले सान्त्वना गोल गरे ।
जितपछि पीएसजी १५ खेलबाट ४१ अंकसहित शीष्र्न स्थानमा छ भने दोस्रो स्थानमा रहेको एंगर्सको २६ अंक छ ।

बार्सिलोनाको चार गोल रियल सोसिडाड माथि , चार अंककै अग्रता

No comments
मंगसिर १३। चोटमुक्त भएर मैदान फर्किएपछि लिओनल मेस्सीको पहिलो लिग गोलको मदतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा चार अंकको अग्रता कायमै राखेको छ ।
शनिबार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले रियल सोसिडाडलाई ४-० ले पराजित गरेको छ ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलेनाले २२ औं मिनेटमा नेयमारको गोलबाट सुरुवाति अग्रता लिएको थियो । ४१ औं मिनेटमा लुइस स्वरेजले उत्कृष्ट भली गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २-० ले अगाडि रहृयो ।
दोस्रो हाफको ५३ औं मिनेटमा नै नेयमारले व्यक्तिगत दोस्रो गोल गरे । ला लिगाको १२ खेलमा उनको यो १४ ओं गोल हो ।
खेलको अन्तिममा नेयमारको पासमा मेस्सीले गोल गरे । चोटका कारण दुई महिना मैदान बाहिर रहेका मेस्सी रियल मड्रिडसँगको इएल क्लासिकोबाट मैदान फर्किएका थिए । चोटमुक्त भएर मैदान फर्किएपछि ला लिगामा मेस्सीको यो पहिलो गोल हो ।
जितसँगै बार्सिलोना १३ खेलबाट ३३ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलबाट २९ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ ।
२४ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा छ र उसले एक खेल कम खेलेको छ ।

खेलकुद विश्वविद्यालय स्थापना गर्न युवा संघको माग

No comments
मंगसिर १३।  युवा संघ नेपालले खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने सहितको ३५ बुँदे माग राख्दै युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष राजीव पहारीको नेतृत्वमा गएको टोलीले एक निर्वाचन क्षेत्र एक खेलकुद मैदानको स्थापना गर्नुपर्ने, बेरोजगार भत्तालाई अनिवार्य गर्नुपर्ने, युवा प्रतिभा पुरस्कारलाई व्यापक गर्नुपर्ने र एक युवा एक रोजगारीको व्यवस्था गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको हो ।
युवा संघले युवा जनसङ्ख्याका आधारमा हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्ने र शिक्षा, स्वास्थ्य र रोजगारीको संवैधानिक हकलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न समेत माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै मन्त्री मण्डलले युवाले उठाएका जायज मागलाई सम्बोधन गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त थरेका छन् । रासस

स्वीट्जरल्यान्डलाई अन्तर्राष्ट्रिय हात्तीपोलोको उपाधि

No comments

Nov 28, 2015

मंगसिर १२।  नवलपरासीमा जारी ३४ औं अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताको उपाधि स्वीट्जरल्यान्डको इएफजीले उचालेको छ ।
नवलपरासीको अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा शुक्रबार भएको अन्तिम खेलमा नेपालको टाइगर टप्स टस्कर्सलाई ८–५ गोलले पराजित गर्दै स्वीट्जरल्यान्डको इएफजीले ट्रफी आफ्नो कब्जामा पारेको हो ।
नवलपरासीको अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा भएको खेलमा सात टोलीलाई पछि पार्दै इएफजीलले उपाधि जितेको हो ।
प्रतियोगितामा स्वीट्जरल्यान्ड, श्रीलङ्का, नेपाल, अमेरिका बेलायत, अस्ट्रेलियालगायतका आठ देशका खेलाडी सहभागी छन् । खेलमा हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् । बललाई हात्तीको सहयोगमा खेलाडीले पोष्टमा लगेर गोल गर्दछन् । रासस

विश्व सुगठनमा नेपाललाई अहिलेसम्मकै ठूलो उपलब्धि

No comments
मंगसिर १२।  थाइल्यान्डको बैंककमा भएको सातौं विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालका रुजेश शाहीले शुक्रबार रजत पदक जितेका छन् ।

रुजेशले प्रतिस्पर्धा गरेको पुरुषको ५५ केजी तौल समूहमा ९ राष्ट्रका खेलाडीले सहभागिता जनाएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् ।

प्रतियोगितामा भारतपहिलो र चीन तेस्रो भयो ।

नेपाली शारीरिक सुगठनको इतिहासमा यो अहिलैसम्मकै ठूलो उपलब्धि हो ।

यसअघि, भारतमा भएको दोस्रो संस्करणमा श्याम श्रेष्ठले कास्य पदक जितेका थिए । 

नेपालबाट बिदा हुँदै दासानायके

No comments
मंगसिर १२।  नेपाली क्रिकेट खेललाई नयाँ उचाइमा पुर्‍याएका राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके आफ्नो प्रशिक्षण यात्रालाई पूर्णविराम लगाउँदै शनिबार (भोलि) नेपालबाट बिदा हुँदै छन् ।

नेपालमा करिब चार वर्ष प्रशिक्षकका रुपमा बिताएका दासानायकेले नेपाली क्रिकेट खेलको स्तरोन्नति गर्दै नेपालबाट बिदा हुन लागेका हुन्

सन् २०११ सेप्टेम्बरमा नेपाल आएका दासानायकेकै नेतृत्वमा नेपालले डिभिजन चारबाट उक्लेर डिभिजन एकसम्मको यात्रा तय गर्न सफल भएको थियो ।

त्यस्तै, उनकै नेतृत्वमा नेपाली टोलीले बंगलादेशमा भएको ट्वेन्टी–२० विश्वकपसमेत खेल्ने अवसर प्राप्त गरेको थियो । नेपाललाई एक दिवसीय वरीयता दिलाउने मूल लक्ष्य पूरा गर्न भने उनी चुकेका थिए ।

प्रशिक्षक दासानायकेले नेपाली खेलाडी निकै मेहनती भएको भन्दै प्रशंसा गरेका छन् । साथै उनले नेपाललाई एक दिवसीय वरीयता दिलाउन नसकेकामा दुःख पनि व्यक्त गरेका छन् ।

त्यतिबेला कप्तान पारसलगायतका केही महत्वपूर्ण खेलाडीहरु ‘फिट’ नभएका कारण पनि प्रतियोगितामा आफ्नो सोचाइअनुरुपको खेल प्रदर्शन गर्न नसकेको प्रशिक्षक दासानायकेको भनाइ छ ।

न्यूजिल्यान्डमा भएको प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेपछि नेपालले उक्त अवसर गुमाएको थियो ।

दासानायकेको करार अवधि डिसेम्बरसम्म रहेको भएपनि विभिन्न कारण देखाउँदै उनले केही समयअघि राजीनामा दिएका थिए । रासस

सूर्य नेपाल गल्फको उपाधि रमेशलाई

No comments
मंगसिर १२।  सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको उपाधि रमेश अधिकारीले जितेका छन् ।

६७ पारको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न उपाधि भिडन्तमा नेपालका नम्बर एक व्यवसायिक खेलाडी शिवराम श्रेष्ठलाई प्लेअफमा हराउँदै रमेशले उपाधि जितेका हुन् ।

दुबैले तीन अन्डर पार दुई सय ६५ को बराबरी खेलेपछि ‘सडन डेथ’को पहिलो होलमाशिवरामले बुगी खेल्दा रमेशले बर्डी गर्दै करियरको तेस्रो मूख्य उपाधि जितेका हुन् ।

जितसँगै रमेशले ७० हजार रुपैयाँ पुरस्कार जित्दा शिवरामको भागमा ४४ हजार रुपैयाँ परेको छ ।

एक अन्डर पार दुई सय ६७ को स्कोर कार्डका साथ तेस्रो भएका भुवन नगरकोटीले ३२ हजार रुपैयाँ जितेका छन् ।

इभनपार दुई सय ६८ को स्कोर कार्डका साथ चौथो बनेका दीपक थापा मगरले २७ हजार रुपैयाँ हात पारेका छन् ।

साविक विजेता रवि खड्का, राम मगर र जयराम श्रेष्ठले भने समान दुई ओभर पार दुई सय ७० को स्कोर कार्डका साथ समान २१ हजार रुपैयाँ जितेका छन् ।

प्रतियोगितामा २९ व्यवसायिकसहित ३६ गल्फरले भाग लिएका थिए । 

टोटनह्याम र लिभरपुल विजयी

No comments

Nov 27, 2015

मंसिर ११ । इंग्लिस क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपर युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको अर्को चरणमा प्रवेश गरेका छन् ।
समुह ‘बी’ अन्तर्गतको खेलमा फ्रान्सको बोर्डोलाई २–१ ले हराउँदै लिभरपुल शीर्ष ३२ टोलीमा परेको हो ।
उता समुह‘जी’ को खेलमा अजरबैजानको कराबागलाई १–० ले हराउँदै टोटनह्याम हट्सपर पनि अर्को चरणमा प्रवेश गरेको छ ।
यसैगरी युक्रेनको डिनिप्रोलाई ३–० ले हराउँदै ईटालीको लाजियो र जर्मनीको अग्सबर्गलाई ३–२ ले हराउँदै स्पेनको एथ्लेटिक क्लब पनि प्रतियोगिताको अर्को चरणमा उक्लिए ।
युरोपा लिग फुटबलअन्तर्गत गएराति समुहका पाँचौ चरणका खेल सम्पन्न भएका हुन् । पाँचौं चरणका खेलहरु सकिँदा कुल १५ टोली अर्को चरणमा पुगिसकेका छन् ।
अब अन्तिम चरणका खेलपछि थप ९ टोली अघिल्लो चरणमा पुग्नेछन् । शीर्ष ३२ का लागि बाँकी ८ टोली भने च्याम्पियन्स लिगको समुह चरणबाट आउनेछन् ।
च्याम्पियन्स लिगको समुह चरणमा तेस्रो हुने टोलीले युरोपा लिग खेल्ने अवसर पाउँछन् ।

एन्फा विवादबारे छानविन गर्न राखेपद्वारा समिति गठन

No comments
मंसिर ११ । अखिल नेपाल फुटबल संघ (एन्फा)का विवादबारे छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्व सचिव प्रतापकुमार पाठकको संयोजकत्वमा पाँच सदस्यीय छानविन तथा सुझाव समिति गठन गरेको छ ।
समितिका सचिवमा राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापा छन् । यसैगरी सदस्यहरुमा महालेखा परीक्षककोकार्यालयका पूर्व निर्देशक उमेशप्रसाद ढकाल, कानुनविद् प्रवल शर्मा तथा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव रामबहादुर हमाल रहेका छन् ।
समितिलाई विशेषगरी चारवटा विषयमा छानविन तथा अध्ययन गर्न कार्यक्षेत्र तोकिएको छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले एन्फा अध्यक्ष गणेश थापालाई गरेको कारवाही तथा एन्फाको कार्यकारी समिति र अध्यक्ष थापाले गरेको निर्णयको वैधानिकता सम्बन्धमा छानबिन गर्नु समितिको मुख्य जिम्मेवारी रहेको छ ।
यसैगरी सिनियर राष्ट्रिय खेलाडीहरुको म्याच फिक्सिङ प्रकरण र १६ वर्ष मुनिका खेलाडीहरुको उमेर ढँटाई प्रकरणबारे पनि सत्यतथ्य बुझ्न समितिलाई भनिएको छ ।
यसैगरी एन्फामा भएको आर्थिक अनियमितता लगायतका विषयमा असन्तुष्ट पक्षले उठाएका मागहरुबारे पनि समितिले अध्ययन अनुसन्धान गर्नेछ । समितिलाई छानविन प्रतिवेदन र सुधारका लागि सुझाव पेश गर्न एक महिनाको समय दिइएको छ ।

म्यानचेष्टर सिटी युभेटन्ससँग पराजित

No comments

Nov 26, 2015


मंगसिर १०।  म्यानचेष्टर सिटीलाई पराजित गर्दै युभेन्टस च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । हारका बाबजुत सिटी पनि अन्तिम १६ मा पुगेको छ ।
बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्टसले म्यानचेष्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसले १८ औं मिनेटमा मारियो मान्जुकिजको गोलबाट अग्रता लिएको थियो ।
६९ औं मिनेटमा सर्जिओ एग्युरोको स्थानमा मैदान छिरेका राहम स्टर्लिङले बराबरी गोल गर्ने मौका गुमाए ।
जितपछि युभेटन्सले ११ अंकका साथ समूह डीको शीर्ष स्थानमा उक्लिएको छ भने सिटीको ९ अंक छ र दोस्रो स्थानमा छ । समूह चरणको अन्तिम खेलमा युभेन्टसले सेभिल्ला र सिटीले बोरुसिया मानचाङलेबाचसाग खेल्नेछ ।
नकआउट चरणमा बार्यन म्युनिख, रियल मड्रिड वा बार्सिलोनासाग नखेल्ने सिटीलाई समूह विजेता हुनु पर्नेछ ।

यू–१९ विश्वकप क्रिकेटमा नेपाल कठिन परिस्थितिमा

No comments
मंगसिर १० । आगामी माघमा बंगलादेशमा हुने अण्डर–नाइन्टिन विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल कठिन समुहमा परेको छ ।
माघ १३ गतेदेखि बंगलादेशमा हुने प्रतियोगितामा नेपाल तीन वटा टेष्ट मान्यता प्राप्त राष्ट्रहरुको समुहमा परेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीलेनिकालेको खेल तालिका अनुसार नेपालको समुह डी मा न्युजिल्याण्ड, अष्ट्रेलिया र भारत रहेका छन् ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा माघ १४ गते न्यूजिल्याण्ड विरुद्ध खेल्नेछ । यसैगरी माघ १६ गते अष्ट्रेलियासँग खेल्ने नेपालले समुहको अन्तिम खेलमा माघ १८ गते भारतको सामना गर्नेछ ।
प्रतियोगितामा सहभागी १६ टोलीलाई चार समुहमा विभाजन गरी राउण्ड रोबिन लिगको आधारमा खेलाइनेछ ।
प्रत्येक समुहको विजेता र उपविजेता टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् भने क्वाटरफाइनलमा पुग्न नसक्ने आठ वटा टोलीले प्लेट च्याम्पियनसिप खेल्नेछन् ।

राजनीतिक हस्तक्षेपमुक्त खेलकुद बनाउँछु : मन्त्री मण्डल

No comments
मंगसिर १०।  युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले आफ्नो पहिलो प्राथमिकता मुलुकको खेलकुद क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनु रहेको बताएका छन् ।

नेपाल ओलम्पिक कमिटीले मन्त्री मण्डललाई स्वागत गर्न बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री मण्डलले राष्ट्रकै प्रतिष्ठाकोरुपमा रहेको खेल क्षेत्रमा रहेको चरम राजनीतिक हस्तक्षेपकोअन्त्य नगरेसम्म वर्तमान समस्या समाधान नहुने उल्लेख गरे ।

उनले नयाँ संविधानअनुसार खेल क्षेत्रका लागि आवश्यक ऐन, कानुन संशोधन गर्दा सरोकारवालाहरुको माग र आवश्यकतालाई ध्यान दिने प्रतिबद्धता जनाए ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजनका लागि अर्थमन्त्रीले सकारात्मक प्रतिबद्धता जनाइसकेकाले बजेटको अभाव नहुने उनले ठोकुवा गरे ।

कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको अन्तर्राष्ट्रिय नियम र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बडापत्रअनुसार नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय संघहरुले स्वायत्तता पाउनुपर्ने बताए ।

कार्यक्रममा ओलम्पिक डेका अवसरमा सम्पन्न विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने बालबालिकाहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

आधा दर्जन गोल गर्दै बार्सिलोना अन्तिम १६ मा

No comments

Nov 25, 2015

मंगसिर ९।  रोमाको पोष्ट आधा दजर्न गोल गर्दै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा लिओनल मेस्सी र लुइस स्वरेजको दुई दुई गोलको मदतमा बार्सिलोनाले रोमालाई ६-१ ले हराएको छ र समूह इको विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।
नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना तीन फवार्ड मेस्सी, स्वरेज र नेयमारसहित मैदान मैदान उत्रिएको थियो । र, घरेलु टोलीले १५ औं मिनेटमा नै स्वरेजको गोलबाट अग्रता लियो ।
चार मिनेटपछि नै मेस्सीले गोल गरे । चोटका कारण झण्डै दुई महिना मैदान बाहिर रहेपछि उनको यो पहिलो गोल समेत थियो ।४४ औं मिनेटमा स्वरेजले उत्कृष्ट भली गोल गर्दै पहिलो हाफमा बार्सिलानालाई ३-० को अग्रता दिलाए ।

नेपालसहित चार देश विजयी

No comments
मंगसिर ९।  नवलपरासीमा जारी ३४ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालसहित चार देश विजयी भएका छन् ।
जसमा टाइगर टप्स टस्कर नेपाल, दि रस्टी कुर्किस युके, गोल ओए श्रीलङ्का र इएचफजी स्विट्जरल्याडका खेलाडी विजयी भएका छन् ।
पहिलो खेल सिआइएच सेन्टपल गिरिपिन्स अमेरिका र नेपालको टाइगर टप्स टस्कर बीच भएको थियो । जसमा गिरिपिन्सले चार गोल गरेको थियो भने टस्करले आठ गोल गरेको थियो ।
दोस्रो खेल थारु टाइगर्स नेपाल र गोल ओए श्रीलङ्काबीच भएको थियो जसमा थारु टाइगर्सले दुई र ओए श्रीलङ्काले आठ गोल गरेको थियो । तेस्रो खेलमा इएचफजी स्विट्जरल्याड र पुक्का चुक्कास अस्ट्रेलियाबीच भएको थियो त्यसमा स्विट्जरल्यान्डले नौ र अस्ट्रेलियाले पाँच गोल गरेको थियो । चौथो खेलमा दि ट्रिग्रिसिप अरेवियाले पाँच र दि रस्टी कुर्किस युकेले सात गोल गरेका थिए ।
टाइगर टप्स होटलको आयोजनामा बर्सेनि हुने प्रतियोगिता यस वर्ष नवलपरासीको कावासोती– १५ अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा जारी छ ।
यो खेल नेपालमा मात्र हुने अन्तर्राष्ट्रियस्तरको खेल हो । खेलमा हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् । बललाई हात्तीको सहयोगमा खेलाडीले पोष्टमा लगेर गोल गर्दछन् ।
प्रतियोगिताअन्तर्गत आज पनि चारवटा खेल हुँदै छन् । पहिलो खेलमा इङ्ल्याण्ड र श्रीलङ्का भिड्ने छन् । त्यसैगरी दोस्रो खेलमा अमेरिका र स्विड्जरल्याण्ड भिड्ने छन् भने तेस्रो खेलमा अरविया र नेपालको थारु लज टाइगर भिड्ने छन् । चौथो खेलमा टाइगर टप्स टस्कर र पक्क चक्क अस्ट्रेलियाबीच खेल हुने व्यवस्थापक डिबी चौधरीले जानकारी दिए ।
प्रतियोगिता अवलोकनका लागि विदेशी पर्यटकका अलावा स्थानीयवासी सर्वसाधारणको समेत भीड बढेको छ । प्रतियोगिता यही मङ्सिर ११ गतेसम्म सञ्चालन हुनेछ । रासस

हेटौंडामा हुने भनिएको अन्तर्राष्ट्रिय गोल्डकप फुटबल रोकियो

No comments
मंगसिर ९।  भूकम्पमा परी निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा आयोजना गर्ने भनिएको अन्तर्राष्ट्रिय आमन्त्र गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म अन्तर्राष्ट्रियस्तरको आमन्त्रण हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्नेे तय भएको थियो ।
तर, देशको वर्तमान असहज परिस्थितिका कारण प्रतियोगिता अर्को मिति नतोकिँदा सम्मलाई स्थगित गरिएको प्रतिष्ठान अध्यक्ष भेष खड्कीले जानकारी दिए ।
देशमा आपूर्ति व्यवस्था सहज भएपछि प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगितामा थ्री स्टार, झापा-११, भारतको कञ्चनजंघा, भुटानको सीएमसी, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र नेपाल प्रहरीको नेपाल पुलिस क्लब सहित विभिन्न स्थानीय टिमले सहभागिता जनाउने तय भएको थियो ।

बाह्रौ डिपो कप फुटबल मंसीर ११ देखी

No comments

Nov 24, 2015

मंगसिर ८।   बाह्रौ ललित अम्बर डिपो कप र दिलकुमार प्लेट च्याम्पियन मंसिर ११ देखी शुरु हुने भएको छ । पहिलो चरणमा पराजित हुने बिद्यालयहरु बीच प्लेट च्याम्पियन कपहुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
धरान १८ स्थित डिपो उच्च माविले प्रत्येक बर्ष आयोजना गर्दै आएको प्रतियोगितामा सुनसरीभरिका कक्षा ५ सम्मका १६ बिद्यालयले सहभागिता जनाउने भएका छन । प्रतियोगितामा १२ वर्ष मुनिका ४ फुट १० ईन्च उचाई भएका विद्यार्थीले मात्र खेल्न पाउने विद्यालयका प्राचार्य राजकुमार राईले जानकारी दिनुभयो ।
प्रावि स्तरीय प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको उत्पादन र खेलवाट स्वास्थ्य र अनुशासित बनाउने उदेश्यले प्रतियोगिताको सञ्चालन गर्दै आएको प्रतियोगिता संयोजक तथा विद्यालय व्यवस्थापन समितीका सदस्य भीमराज लिम्वुले बताउनुभयो । प्रतियोगितामा आयोजक डिपो स्कुल,हिम शिखर सेकेण्डरी स्कुल,सुनखरी एकेडेमी,नोबेल एकेडेमी,सगरमाथा रेसिडेन्सियल स्कुल,मेरीगोल्ड स्कुल,पुर्वाञ्चल क्षेत्रीय प्रहरी स्कुल,सृजना स्कुल,नवज्योति स्कुल,सिदार्थ स्कुल, लिगामेन्ट स्कुल,मेरील्याण्ड स्कुल,युनाइटेड स्कुल,होलील्याण्ड स्कुल,भिक्टोरी स्कुल, एस ओ एस स्कुलले सहभागिता जनाउने छन ।
प्रतियोगितामा प्रथम,दोश्रो,तेश्रो र प्लेट च्याम्पियन र प्लेट रनर–अप हुनेले नगद पुरस्कार क्रमशः ७ हजार,५ हजार,३ हजार र प्लेट तर्फ ३ हजार र २ हजार, ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन । प्रतियोगितामा करिव ३ लाख ११ हजार ४ सय १५ रुपैंया खर्च हुने अनुमान गरिएको छ 

मंसिर २८ मा क्यानको चुनावी साधारणसभा

No comments
मंगसिर ८।  नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधारणसभा मंसिर २८ गते काठमाडौंमा हुने भएको छ ।
क्यानको काठमाडौंमा बसेको बैठकले मंसिर २८ र २९ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
यसअघि राष्ट्रिय खेलकुद परिषदले गत कार्तिकमा भैरहवामा हुने भनिएको साधारणसभा रोकेको थियो ।
यस्तै क्यानले यु–१९ राष्ट्रिय टिमका खेलाडीलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ । मलेसियामा भएको आइसीसी यु–१९ छनोट खेलमा सफलता हासिल गरेको टोलीलाई सम्मान गर्न लागिएको क्यानले जनाएको छ ।
नेपालले जनवरीमा बंगलादेशमा हुने विश्वकपमा सहभागीता जनाउँदैछ ।
त्यस्तै बैठकले यु–१९ टिमका प्रशिक्षक जगत टमाटालाई विश्वकपको तयारीसमेत गर्नेगरी दुई महिनाका लागि प्रतिमहिना २५ हजार रुपैयाँको विशेष सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।
बंगलादेशमा हुने विश्वकपका लागि राष्ट्रिय टिमको छनोटका लागि मलेसिया छनोटमा खेलेका १४ तथा वैकल्पिक ४ गरी १८ खेलाडीहरुसँगै प्रत्येक क्षेत्रका उत्कृष्ट खेलाडी छनोट गरी तीन टिम बनाएर मंसिर ११ गतेदेखि काठमाडौंमा डबल राउण्डरबिन लिग संचालन गरिनेसमेत क्यानले जनाएको छ ।
क्यानले आर्थिक अनियमिता गरेको आरोपमा डेढ वर्षसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निलम्बनमा परी सफाइ पाएका अध्यक्ष टंक आङबुहाङसहित १० जना सदस्यलाई पनि स्वागत गरेको छ ।

यू-१९ क्रिकेट टोलीलाई क्यानले नगदसहित सम्मान गर्ने

No comments
मंगसिर ८।  नेपाल क्रिकेट संघ क्यानले एसीसी यू-१९ विश्वकप छनोटको विजेता टोलीलाई नगदसहित सम्मान गर्ने भएको छ ।
क्यानको आइतबार सम्पन्न बैठकले टोलीका प्रत्येक सदस्यलाई जनही ५० हजार दिने निर्णय गरेको हो । साथै प्रशिक्षक जगत टमाटालाई दुई महिनाको विशेष सुविधा गरी ५० हजार नै दिने निर्णय गरेको छ ।
केही समयअघि मलेसियामा भएको यू-१९ विश्वकप छनोटमा आयरल्याण्डलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो ।
क्यानले अर्को वर्ष बंगलादेशमा हुने यू-१९ विश्वकपलाई लक्षित गरी डवल राउण्ड रोविन लिग म्याच गराउने भएको छ ।
विश्वकप छनोट खेलका १४ र वैकल्पिक चारसहित १८ खेलाडी र प्रत्येक क्षेत्रबाट उत्कृष्ट खेलाडीहरु समावेश गरी ३ टीम बनाइने उसले बताएको छ ।

तनहुँमा जिल्लाकै सर्वाधिक राशीको फुटबल

No comments
मंगसिर ८ / तनहुँमा आइतबार देखि जिल्लाकै सर्वाधिक राशीको फुटवल प्रतियोगिता सुरु भएको छ ।
युवा क्लव भिमादद्वारा हरिवोधनी एकादशीको अवसरमा आयोजित प्रतियोगिताको नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उद्घाटन गरिन् ।
प्रतियोगिताका विजेताले १ लाख ५५ हजार ५ सय ५५ र उपविजेतालाई ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार हात पार्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर, बढी गोलकर्ता र अनुशासित टिमलाई १०/१० हजार नगदारा पुरस्कृत गरिने क्लवले जनाएको छ ।
प्रतियोगितामा १४ वटा टिम सहभागी छन् ।

मनास्लु ट्रेल दौडः नेपाल

No comments
मंसिर ८  । मध्य पहाडीदेखि उच्च हिमाली भूभाग हुँदै सम्पन्न हुने मनास्लु ट्रेल दौड यस बर्ष पनि सम्पन्न भएको छ । गोरखाको आरुघाटबाट सुरु भई मनाङको धारापानी पुगेर सकिएको दौडमा स्वदेशी र विदेशी पर्यटकको सहभागिता रहने गरेको छ । 

नेपालको टाइगर टप्सको विजयी सुरुआत

No comments
मंसिर ७ । नवलपरासीमा सुरु भएको अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगितामा नेपालको टाइगर टप्सको तुस्कर्स, श्रीलंका र स्वीट्जरलयान्डले विजय सुरुआत गरेका छन् ।

टाइगर टप्सले अमेरिकी टोलीलाई ८–४ ले, श्रीलंकाको टोलीले नेपालको थारु लजलाई ८–२ ले र स्वीट्जरल्यान्डको टोलीले अष्ट्रेलियालाई ९–५ ले हरायो ।

टाइगरटप्स र थारु भिलेज रिसोर्टको आयोजनामा जारी प्रतियोगिता कावासोती नगरपालिका–१६ होमस्टेनजिकै ढकाहा वनको चौरमा भइरहेको हो ।

टाइगर टप्स र थारु भिलेज रिसोर्टको आयोजनामा सन्चालित प्रतियोगितामा नेपालसहित ८ देशका टिम सहभागी छन् ।

यसअघि चितवनमा हँुदै आएको प्रतियोगिता यस वर्ष नवलपरासीमा गरिएकोे हो । प्रतियोगिता शुक्रबारसम्म सन्चालन हुने छ । 

पाकिस्तानले साफ च्याम्पियनसिप नखेल्ने

No comments

Nov 22, 2015

६ मंसिर। पाकिस्तानले अर्को महिना भारतमा हुने साफ च्याम्पियनसिप फुटबलमा भाग नलिने भएको छ ।
पाकिस्तान फुटबल फेडेरेशन (पीएफफ)ले साफका महासचिवलाई प्रतियोगिताबाट नाम फिर्ता लिएको जानकारी गराएको छ । ‘पीएफफले साफ च्याम्पियनसिपबाट टीम फिर्ता लिएको इमेल मैले पाए’ साफ महासचिवले द डेलिस्टारसँग भनेका छन् ।
पाकिस्तानले पछिल्लो समय एएफसी र साफ प्रतियोगिताहरु खेलेको छैन । उसले साफ यू–१६, यू–१९ र यू–२१ समेत खेलेन ।
साफ च्याम्पियनसिप यो वर्ष सुजुकी साफ कपको नामबाट डिसेम्बर २३ देखि जनवरी ३ सम्म केरलामा हुँदैछ ।
पाकिस्तानले नाम फिर्ता लिएपछि अब सात टीमले मात्र खेल्नेछन् । जसमा नेपाल, भारत र श्रीलंका समूह एमा छन् भने समूह बीमा अफगानिस्तान, माल्दिभ्स, बंगलादेश र भुटान छन् ।

नामिबियाका पूर्व कप्तान रेमन्डको निधन

No comments
मंगसिर ६।  नामिबियाका पूर्व कप्तान रेमन्ड भान स्कुअरको निधन भएको छ । साउथ अफि्रकाको घरेलु क्रिकेटमा आइतबार फ्रि स्टेटविरुद्धको खेलका क्रममा विकेट किपर रहेका उनी विराममी भएका थियो ।
२५ वर्षे उनलाई बुधबार आईसीयूमा राखिएको थियो । शुक्रबार क्रिकेट नामिबियाले विकेट क्रिपर ब्याट्सम्यान रेमन्ड भान स्कुअरको निधन भएको घोषणा गरेको छ ।
उनले नामिबियाका लागि २०० भन्दा बढी बढी खेलेका उनले ८ हजार भन्दा बढी रन बनाएका छन् । रेमन्डले १७ वर्षको उमेरमा डेब्यू गरेका थिए ।
उनले स्कटल्याण्ड र आयरल्याण्डमा भएको विश्वकप छनोट खेलेका थिए भने आइयरल्याण्डविरुद्ध इन्टरकन्टिनेन्टल कप समेत खेलेका छन् । 
४० खेलमा नामिबियाको कप्तानी गरेका उनी २०१२ को नामिबियाका क्रिकेटर अफ दि इयर समेत हुन् ।

बार्सिलोनले रियल म्याड्रिडलाई ४–० अन्तरले हरायो

No comments
मंसिर ६।  बार्सिलोनाको गए राति रियल म्याड्रिड माथि ४–०को जीत पछि ६ अंकको फराकिलो अन्तरका साथ ला लिगाको शिर्ष स्थानमा रहन सफल भएको छ । लुइस स्वारेजको सान्दार २ गोलको मद्दतले बार्सिलोनाले रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा हराउन सफल भएको थियो ।
खेलको सुरुवाती समयमा नै स्वारेजले १६ यार्डबाट सशक्त प्रहार गर्दै गोल गरेका थिए । यस्तै मध्यान्तर अघि नै बार्सिलोनाका अर्को स्टार नेयमारले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । मध्यान्तर पछिको खेल पनि पूर्णरुपमा बार्सिलोनाको कब्जामै रह्यो ।

मध्यान्तरपछिको आठौं मिनेटमा इनिस्टाले गोल गरेका थिए । ३ गोलले पछि परेको रियल म्याड्रिड खेलमा फर्किन नसक्दा खेलको ७४ औं मिनेटमा स्वारेजले पुन: अर्को गोल गर्दै बार्सिलोनाको जीत पक्का गरेका थिए ।

बिच भलिबलको उपाधि एपिएफलाई

No comments
मंगसिर ५।  तीनदिने बिच भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।
पूर्वाञ्चल भलिबल संघले आयोजनामा इटहरीमा भएको प्रतियोगिताको फाइनलमा सशस्त्रले अर्को विभागीय टोली नेपाली सेना पराजित गरेको हो ।
सशस्त्र प्रहरीका महेन्द्र श्रेष्ठ र सुरेश चौधरीको जोडीले नेपाली सेनाका महेन्द्र श्रेष्ठ र हरिहर कार्कीको टोलीलाई २१–१० र २१–१७ को लगालग पराजित गरेको छ।  विजयी टोलीले २० हजार तथा सिल्ड प्राप्त गरेको छ भने उपविजेताले १५ हजार पाएको छ ।
महिलातर्फको उपाधि पनि सशस्त्र प्रहरीका सरस्वती चौधरी र नेविका चौधरीको टोलीले जितेको छ । सशस्त्रको टोलीले  नेपाल प्रहरीको बिनी बुढाथोकी र रेश्मा भण्डारीको टोलीलाई पराजित गरेको हो भयो । विजेता टोलीले २० हजार पाएको छ । रासस

पिस म्याराथनको उपाधि नेपाली सेनाका होमलाललाई

No comments

मंगसिर ५।  ‘शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिविद्धता' भन्ने नाराका साथ  नेपालगन्जमा आयोजना गरिएको ‘नेपालगन्ज पिस म्याराथन–२०१५को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन्।

 होमलालले ४२ किलोमिटरको दुरी २ घन्टा ३६ मिनेट ४२ सेकेन्डमा  पुरा गरेर खुल्लातर्फको उपाधि जितेका हुन्। त्यसै गरी सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका गणेश सिंह ठकुरीले २ घन्टा ३८ मिनेट ५३ सेकेन्डमा पुरा गरी दोस्रो र एपीएफकै दानबहादुर धामीले २ घन्टा ३९ मिनेट ०१ सेकेन्डमा तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।
 नेपालगन्ज रंगशालादेखि सुरु भएको म्याराथन कोहलपुर चौराहदेखि ८ सय मिटर उत्तर पुगेर फेरि त्यही रुट भई फर्किएको थियो। गणेशले म्याराथनको दुरी  १३ जनाले पुरा गरेका छन्। क्रियटिभ ह्याण्ड्सले  मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको समन्वय तथा बिभिन्न सामाजिक संघ संस्थाको साझेदारीमा आयोजना भएको म्याराथनमा ६१ जनाको सहभागिता थियो। त्यसैगरी १० किलोमिटर महिला मिनी म्याराथनको उपाधि एपीएफकी कृष्णेश्वरी सिन्तकलाले जितिन्। उनको समय ४१ः१२ मिनेट रह्यो। यसमा जुम्लाकी सुनमाया बुढा द्धितीय र जुम्लाकै पुर्णलक्ष्मी न्यौपाने तृतीय भइन्। 
 
त्यस्तै ५ किलोमिटर विद्यालय स्तरीय छात्रतर्फ सागर बुढाथोकी(बाँके) प्रथम, आर्टिस चौधरी(बाँके) द्धितीय र युवराज ऐडी(कालिकोट) तृतीय तथा छात्रातर्फ मञ्जु रावत(जुम्ला) प्रथम, कमला जैशी(बाँके) द्धितीय र सरस्वती पाण्डे(कालिकोट) तृतीय भए। 
 
शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ आयोजना भएको नेपालगन्ज पिस म्याराथन तथा बहुभाषिक शान्ति सद्भाव उत्सवमा बिभिन्न विद्यालय तथा क्लबहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै श्यामानन्द सिंहको एकल शान्ति चित्रकला प्रदर्शनी पनि गरिएको थियो। रंगशाला परिसरमा हिंसा अन्त्य शान्ति अठोट अभियानमा हजार बढी सहभागिले हस्ताक्षर गरेका थिइ।  
 
शान्ति सम्झौता दिनको अवसर पारेर हरेक बर्ष मंसिर ५ गते आयोजना हुने गरी सुरु भएको म्याराथनलाई परिमार्जित र व्यवस्थित गर्दै लैजाने आयोजक संस्था क्रियटिभ ह्यान्सका संयोजक टि.एस ठकुरीले बताए।  म्याराथनको विजेताले नगद २५ हजार, उपविजेताले १५ हजार र तृतीय हुनेले दश हजार नगद पुरस्कार बितरण गरिएको थियो। 

मनास्लु ट्रेल रेस सम्पन्न

No comments

Nov 20, 2015

मंगसिर ४।  चौथो मनास्लु ट्रेल रेस आज सकिएको छ । मनास्लु क्षेत्रलाई प्रबर्द्धन गर्ने उद्देश्यले बेलायती नागरिक रिचर्ड बुलको सहयोगमा गत कार्तिक २४ गते गोरखाको सोतीखोलाबाट शुरु भएको रेस आज मनाङको धारापानी पुगेर सकिएको हो ।
रेसमा नेपाली धावक दिपेन्द्र बहादुर बम विजेता भए । ८ दिन लगातार चल्ने रेस गोरखाको आरुघाट,माछा खोला, जगत, ड्याङ, लोगाउँ, सामागाउँ, साम्दो, लार्केपास, मनाङको भीमताङ हुँंदै मनाङको धारापानी गएर टुंगिएको हो ।
कुल २११ किलोमिटरको दौडमा २१ जना विदेशी र ४ जना नेपाली धावकहरुले सहभागिता जनाएका थिए ।

एन्फालाई नीतिगत निर्णय नगर्न राष्ट्रिय खेलकुद परिषद्को निर्देशन

No comments
मंगसिर ४।  राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ एन्फालाई नीतिगत निर्णय नगर्न निर्देशन दिएको छ ।
एन्फा अध्यक्ष गणेश थापालाई अन्तर्राष्ट्रिय फुटबल महासंघले १० वर्ष प्रतिबन्धसहितको कारवाही गरेपछि खेलकुद परिषद्ले अर्को निर्णय नभएसम्मका लागि कुनै पनि नीतिगत निर्णय नगर्न एन्फालाई निर्देशन दिएको हो ।
style="text-align: justify;">साथै परिषद्ले एन्फासँग गणेश थापा प्रकरणमा लिखित स्पष्टीकरण समेत सोधेको छ । फिफाको कारवाहीले नेपाली खेल जगत् अन्तराष्ट्रियस्तरमै बदनाम भएको भन्दै राखेपले कारवाहीको विस्तृत विवरण र आरोपहरुबारे एन्फासँग आधिकारीक जानकारी मागेको हो ।
उता राष्ट्रिय खेलकुद परिषद्ले स्पष्टीकरण सोधेकै दिन एन्फाले पनि वरिष्ठ उपाध्यक्ष नरेन्द्र श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको सार्वजनिक भएको छ ।
एन्फाको पछिल्लो साधारणसभाबाट चुनिएका उपाध्यक्षहरु एन्फाकै कारवाहीमा परेको पृष्ठभुमीमा मनोनित उपाध्यक्ष श्रेष्ठलाई कार्यवाहक जिम्मेवारी सुम्पिएको हो ।
एन्फाका असन्तुष्ट उपाध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतका पदाधिकारीहरुले भने यो निर्णय नमान्ने बताउँदै बैधानिक कार्यसमितिको वैठक बोलाएर कार्यवाहक अध्यक्ष चुन्नुपर्ने तथा विशेष साधारणसभा बोलाएर नयाँ नेतृत्य चयन गर्नुपर्ने माग गरेका छन् ।

निलम्बित अध्यक्ष र उपाध्यक्षको अपील फिफाद्वारा खारेज

No comments
मंसिर ४।  विश्व फुटबलको सर्बोच्च निकाय फिफाले निलम्बित अध्यक्ष सेप ब्लाटर तथा उपाध्यक्ष मिचेल प्लाटिनीको अपिल खारेज गरेको छ ।
ब्लाटर तथा युरोपियन फुटबल महासंघका अध्यक्षसमेत रहेका प्लाटिनीले आफूहरुमाथी लागेको ९० दिनको निलम्बनबिरुद्ध गरेको अपिल फिफाले खारेज गरेको हो ।
गतअक्टोबरमा भ्रष्टाचारको आरोपमा छानबिनका लागी भन्दै फिफाले तत्कालिन अध्यक्ष सेप ब्लाटर, उपाध्यक्ष मिचेल प्लाटिनी तथा महासचिब जेरोमी भ्लाकेलाई ९० दिनसम्म कुनै पनि फुटबल गतिबिधीमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको थियो ।
फिफाले अपिल अस्विकार गरेसँगै फिफा अध्यक्षका प्रत्यासी बनेका युरोपियन फुटबल महासंघका अध्यक्ष मिचेल प्लाटिनीमाथी संकट थपिएको छ ।
निलम्बनका कारण उनले आउँदो फ्रेबुअरीमा हुने फिफा अध्यक्ष पदको निर्बाचनमा समर्थन जुटाउन सक्ने छैनन् ।
प्लाटिनीले निलम्बन बिरुद्ध अब अदालतमा अपिल गर्ने बताएका छन् । फिफाको बिशेष कमिटिले पूर्बउपाध्यक्ष तथा आगामी निर्बाचनमा अध्यक्षका प्रत्यासी चुङ मोङलाइ पनि ६ बर्षको प्रतिबन्ध गरेको छ ।

पोखरा–११ ले बेलायतको मेरीलेबोन क्रिकेट क्लबलाई हरायो

No comments

Nov 17, 2015

मंगसिर १।  पोखरा–११ ले बेलायतको मेरीलेबोन क्रिकेट क्लब (एमसीसी)माथि ५ विकेटको जित हासिल गरेको छ ।

सोमबार पोखरामा भएको मैत्रीपूर्ण क्रिकेटमा दिपेश खत्रीको कप्तानीमा मैदानमा उत्रिएको पोखरा–११ विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित ४० ओभरमा ६ विकेटको क्षतिमा २ सय २ रनको योगफल तयार पार्‍यो

एमसीसीको तर्फबाट माइकल कोल्सले सर्वाधिक ६१ रन जोडे भने स्टिप क्लार्कले अर्धशतक पूरा गरे । उनले ५६ रन जोडेका हुन् । एमसीसीका कप्तान निल डेक्सटरले २८ रनको योगदान गरे ।

पोखरा–११ का दिपेश खत्रीले २, अमृत गुरुङले २ र विपीन खत्री र जिमी गुरुङले एक/एक विकेट झारे ।

२ सय ३ रनको लक्ष्य पोखरा–११ ले ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

पोखरा–११ को जितमा अनिल गुरुङले ७५ रन जोडे भने शिव सुवेदीले २८, विधान श्रेष्ठले २३ रन जोडे ।

एमसीसीका कप्तान निल डेक्सटरले २ विकेट लिए ।

पोखरा–११ का अनिल गुरुङ ‘म्यान अफ दी म्याच’ घोषित भए ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्‍यो

No comments
मंगसिर १।  आगामी मंसिरमा आयोजना हुने भनिएको सातौं रष्ट्रिय खेलकुद प्रतियोगिता फागुनका लागि सारिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को सोमबार बसेको बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।

समयमा बजेट निकासा नहुँदा मंसिर ११ गतेदेखि १८ गतेसम्मका लागि तय गरिएको प्रतियोगिता फागुन१८ देअि २३ गतेसम्म पूर्वाञ्चलमा गर्ने निर्णय गरिएको हो ।

राखेपले बोर्ड बैठकमार्फत् सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि युवा तथा खेलकुद मन्त्रालयसमक्ष ३२ करोड मागेकोमा २३ करोड स्वीकृत भइसकेको छ ।

पूर्वाञ्चलमा पहिलोपटक आयोजना गर्न लागिएको प्रतियोगिताअन्तर्गतको स्वीमिङ र म्याराथन दसैंअघि नै भइसकेका छन् । 

टेलरको दोहोरो शतक, स्टार्कको कीर्तिमानी

No comments

Nov 16, 2015

कार्तिक ३०।  रोस टेलरको दोहोरो शतकसँगै पाहुना टोली न्यूजिल्याण्ड अष्ट्रेलियाविरुद्धको पर्थ टेष्टमा फर्किएको छ ।
तेस्रो दिनको खेल सकिँदासम्म न्यूजिल्याण्डले ६ विकेट गुमाएर ५१० रन बनाएको छ र मात्र ४९ रनले पछाडि छ । शानदार प्रदर्शन गरिरहेका टेलर २३५ र मार्क क्रिग ७ रनमा क्रिजमा छन् ।
केन विलियम्सनले ७० र टेलरले २६ रनबाट अघि खेल्दै तेस्रो दिनको खेल थालेका थिए । विलियम्सनको शतक अष्ट्रेलियाका लागि नौलो थिएन । तर, पर्थमा टेलर असाधारण लय घरेलु टोलीका लागि आश्चर्यजनक नै रहृयो ।
तेस्रो दिनको टीपछि टोलरले मिचेल स्टारको बलमा चौका हान्दै दोहोरो शतक पुरा गरेका हुन् ।  दोहोरो शतक बनाउने क्रममा २५४ बलको सामना गरेका उनले ३० चौका र दुई छक्का हानेका छन् । यससँगै उनी टेष्टमा अष्ट्रेलियाविरुद्ध दोहोरो शतक बनाउने पहिलो विकिज ब्याट्सम्यान बनेका छन् ।
टेलरको २३५ रन करियरकै उच्च स्कोर हो । तर, चौथो दिनको खेल सुरु गर्दा उनीसँग अष्ट्रेलियाका डेभिड वार्नरले पहिलो इनिङमा बनाएको २५३ रनलाई पार गर्ने मौका हुनेछ ।
टेलरले तेस्रो विकेटका लागि विलियम्सनसँग २६५ रनको साझेदारी गरे । यो आफैंमा एक कीर्तिमान थियो । विलियम्सन १६६ रनमा आउट भए ।
पर्थमा अष्ट्रेलियाका मिलेच स्टार्कले पनि नयाँ कीर्तिमान बनाएका छन् । स्टार्कले २१ औं ओभरको चौथो बलमा १६०.४ किलोमिटर प्रतिघन्टाको गतिले बल फ्याँक्दै टेष्ट इतिहासकै तीव्र गतिमा बलिङको रेकर्ड राखे ।
अहिलेसम्म १६० किलोमिटरको तीव्र गतिमा चार बलरले मात्र बलिङ गरेमन छन् । तर, यसअघिका तीन रेकर्ड टेष्टमा थिएनन् ।
पाकिस्तानका शोएब अख्तरले २००३ मा इंग्ल्याण्डविरुद्ध वन डेमा १६१.३ किलोमिटर प्रतिघन्टाको गतिले बलिङ गरेका छन् । ब्रेट ली र जेस थमसनले पनि १६० भन्दा बढी किलोमिटर प्रतिघन्टाको गतिले बलिङ गरेका छन् ।
पहिलो इनिङमा अष्ट्रेलियाले डेभिड वार्नरको दोहोरो शतकको मदतमा ५५९ रन बनाएको थियो ।

विष्टलाई नहटाउन दिएको अन्तरिम आदेशलाई निरन्तरता

No comments
कार्तिक ३०।  सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव केशवकुमार विष्टलाई हटाउन अख्तियारले गरेको सिफारिस कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले अघिल्लो आदेशलाई निरन्तरता दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय फाइल मगाएको छ ।
अख्तियारले असोज १८ मा सदस्य सचिव विष्टलाई हटाउन सिफारिस गरेको थियो । अख्तियारको सिफारिसविरुद्ध विष्ट सर्वोच्च गएपछि कात्तिक १३ गते सिफारिस कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । 

हंगेरी युरो कपका लागि छनोट

No comments
कार्तिक ३०।  प्ले अफमा नर्वेलाई पराजित गर्दै हंगेरी युरो कप फुटबलका लागि छनोट भएको छ ।
हंगेरीले सन् १९८६ पछि पहिलो पटक ठूलो प्रतियोगितामा स्थान बनाएको हो । १९८६ मा हंगेरीले विश्वकप खेलेको थियो ।
आइतबार राति भएको प्ले अफको दोस्रो लेगमा हंगेरीले नर्वेलाई २–१ ले पराजित गरेको छ ।
१४ औं मिनेटमा टामस प्रिस्किनको गोलबाट अग्रता लिएको थियो । ८३ औं मिनेटमा उपहार गोल पायो । नर्वेका नाइल्याण्डले आत्मघाती गोल गरे ।
त्यसको चार मिनेटपछि नै हेनरिकसनले नर्वेका लागि गोल गरेपनि हार टार्न सकेनन् ।
पहिलो लेग १–० ले जितेको हंगेरी समग्रमा ३–२ विजयी हुँदै युरो कपमा छनोट भएको छ ।

ट्राइयाथलनमा डेनिस प्रशिक्षक

No comments
कार्तिक ३०।  भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने दक्षिण एशियाली खेलकुद प्रतियोगितालाई मध्येनजर राख्दै नेपाल ट्राइयाथलन संघले डेनिश प्रशिक्षकलाई राष्ट्रिय प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।
कास्कीको बेगनाश तालमा भएको सातौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो राष्ट्रिय ट्राइयाथनल प्रतियोगिताबाट सागकोलागि छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखी उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले ५१ वर्षीय विदेशी प्रशिक्षक पिटर ज्याकोवसनलाई राष्ट्रिय प्रशिक्षकको रुपमा नियुक्त गरिएको संघद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
प्रशिक्षक ज्याकोवसन ट्राइयाथनल प्रशिक्षकका साथ साथै शारीरिक र मानसिक प्रशिक्षणका ज्ञाता समेत रहेका छन् । उनी आफ्नो जमानाका उत्कृष्ट खेलाडी हुनुका साथै ट्राइयाथनलका निकै अनुभवी प्रशिक्षक समेत रहेका छन् । उनले डेनमार्क, जर्मनी, जिम्वाब्वे, म्यानमार, सिङ्गापुर र कम्वोडियामा प्रशिक्षकको रुपमा रहेर काम गरिसकेका छन् ।
सागमा स्वर्ण पदक हासिल गर्ने उद्देश्यका साथ तयारीमा जुटेको नेपाल ट्राइयाथलन संघले आफ्नो उद्देश्यलाई मूर्तता प्रदान गर्न बिदेशी प्रशिक्षकलाई भित्र्याएको संघका महासचिव निलेन्द्र राज श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ ।
हाललाई सागसम्मको सम्झौता भएता पनि नेपाली ट्राइयाथलनलाई उत्कृष्ट बनाउनका लागि आगामी २ देखि ४ बर्षसम्म ज्याकोवसनलाई नेपाली राष्ट्रिय प्रशिक्षकको रुपमा नेपालमा राख्न पहल गर्ने महासचिव श्रेष्ठले बताए ।
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat